झापा , बैशाख १० । पाँचथरको फिदिम याङनाम फालौट सडकखण्ड अन्तर्गत फिदिम नगरपालिका-१० नागिनमा पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
दुर्घटनामा पिकअपमा सवार ५ जना घाइते भएका छन् । दुर्घटनामा परेका फालेलुङ-८ का ३० वर्षीय साजन केरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । फालेलुङ-८ लुवाफुदेखि फिदिम जाँदै गरेको मे १ ज २९५८ नम्बरको पिकअप आज बिहान ८ बजे दुर्घटना भएको थियो । दुर्घटनामा फालेलुङ-८ का वडा सदस्य समेत रहेका चालक छवि अधिकारी, हिलिहाङ-७ का धनकुमार रसाइली, याङबरक-५ की निर्मला केरुङ, फालेलुङ-८ कै पूणर्बहादुर जबेगु र ठेगाना नखुलेका करिब २५ वर्षीय अच्युत केरुङ रहेको प्रहरीले जनाएको छ । घाइते ५ मध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले पाँचथर अस्पतालबाट थप उपचारका लागि झापातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।