झापा , बैशाख १० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता गर्न मिल्ने गरी कानुन बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान मुख्यसचिव शंकरदास बैरागीलाई बोलाएर नेपालमा बन्ने यात्री मोटरसाइकललगायत सवारीसाधन दर्ता गर्न मिल्ने कानुन बनाउन निर्देशन दिएका हुन्। उनले ‘यात्री’लगायत नेपालमा उत्पादित सवारीसाधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको बताउँदै सवारीसाधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नेगरी तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन्। ’यात्री’लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छुु, उनले आइतवार सामाजिक सञ्जालमा भनेका छन्, सवारी साधन दर्ता एवम् स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु ।’

प्रधानमन्त्रीले “यात्री’ लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै प्रधानमन्त्रीले विद्यमान कानुनी व्यवस्था अपुग भएकोले तत्काल ऐन परिमार्जन या नयाँ मस्यौदा तयार गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्द्धन सम्बन्धि कानुन निर्माणको प्रस्ताव पेश गर्न निर्देशन दिएका छन्। यसअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको कार्यभार ग्रहण गरेलगत्तै मातहतका मन्त्रालयलाई नव प्रवर्तन तथा नवीनतम् प्रविधिको प्रयोगमार्फत सुशासन तथा जनसरोकारका विषय सम्बोधन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्ययोजना प्रस्तुत गर्न निर्दशन दिएका थिए । यसका साथै आवीस्कार केन्द्रलगायतका नवप्रवर्तन र वैज्ञानिक आविस्कारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुसँग समेत निरन्तर छलफल गर्दै वैज्ञानिक आविस्कारको विकासमा राज्यले पूणर् सहयोग गर्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्