भद्रपुर, बैशाख ११ । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट खेलमैदान मर्मत गर्न आज श्रमदान गरिएको छ ।

भद्रपुर क्रिकेट क्लबको अगुवाइमा खेलमैदान मर्मत सम्भारका लागि स्वतस्फूर्त रुपमा १५० जनाभन्दा बढीले श्रमदान गरेका थिए । काँसघारीमा परिणत भएको खेलमैदानलाई काँसको झार काटेर, आगो लगाएर जोतिएको छ भने श्रमदानमार्फत् झार जिल्याउने कार्य भइरहेको भद्रपुर क्रिकेट क्लबका सचिव शिबु बुढाथोकीले बताए ।

श्रमदानमा सशस्त्र प्रहरी भद्रपुरका सशस्त्र प्रहरी, भद्रपुर क्रिकेट क्लब सल्लाहकार, संरक्षक, कार्यसमिति, क्लबमा आबद्ध खेलाडी, मेची क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर–८ का वडाध्यक्ष गौरब सुब्बा (मनोज), क्लब अध्यक्ष आदित्य पराजुली, महासचिव टहलदास मैनाली, सल्लाहकार नितेश बर्मा, मेची क्याम्पस स्ववियु सभापति पवन धमलालगायतको सहभागिता थियो ।

आज बिहान ९ः३० देखि ११ः३० सम्म भएको श्रमदानलाई भोलि बिहान ७ बजे निरन्तरता दिइने भएकाले सम्पूर्ण खेलप्रेमीहरुलाई श्रमदानमा सहभागी हुन क्लब अध्यक्ष पराजुलीले आह्वान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्