भद्रपुर , बैशाख ११ । भद्रपुर –४ स्थित झापा चौकमा चलिरहेको महोत्सवमा कानुनविपरित जुवाजन्य खेल खेलाइरहँदा समेत प्रहरी प्रशासनको मौनता पाइएको छ ।

प्रथम झापा चौक कृषि तथा सांगीतिक महोत्सव नाम दिएर चैत्र २९ गतेदेखि सञ्चालनमा ल्याइएको महोत्सवमा हाउजी बिङ्गोलगायत सट्टेबाजीसम्बद्ध जुवाजन्य खेल भइरहँदा नियामक निकाय रमिते देखिएको हो ।
सगरमाथा फाउण्डेसन भद्रपुर पृथ्वीनगर मुल आयोजक रहेको महोत्सव बिर्तामोडको रिकभरी टिमले ठेक्कामा सञ्चालन गरिरहेको छ । कृषिको नाम दिइएको महोत्सवमा कृषिसम्बद्ध सामग्रीले भने भाडा तिर्न नसक्ने देखेर सहभागिता जनाएका छैनन् भने त्यस रिक्ततालाई जुवाजन्य खेल तमासाले भर्ने प्रयास आयोजकको देखिएको छ ।
मेला महोत्सवमा मदिरा तथा जुवाजन्य खेल तमासा पूर्ण रूपमा निषेध हुने कानुनी व्यवस्था भएपनि धेरै आम्दानी हुने बहानामा प्रहरी प्रशासनसित साँठगाठ गरी आयोजकले भारतीय नागरिकप्रति लक्षित भन्दै मदिरा तथा जुवाजन्य खेल तमासा देखाउने गरेको स्थानीयको भनाइ छ ।
हल्लाका बीच महोत्सव मध्यरातसम्म सञ्चालन हुँदा आसपासका बासिन्दालाई त्यहाँबाट उत्पन्न आवाजले निन्द्रामा समेत असर गरिरहेको गुनासो आउने गरेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मेला महोत्सवमा कानुनले निषेध गरेका काम भए आयोजकलाई कारवाही गरिने भन्दै झापा चौक महोत्वसमा हाउजीलगायत जुवाजन्य तथा मदिराजन्य कारोवारको अनुमति नरहेको प्रष्ट पारेका छन् । उनले रातको ९.०० बजेसम्म मेला सञ्चालन गर्न अनुमति दिएकोले सो भन्दा पछाडि सञ्चालन भएको पाइए कारवाही गरिने समेत जानकारी दिए ।