झापा, बैशाख १२ । उदयपुरको गाईघाट फुटबल क्लब झापामा जारी प्रदेशस्तरीय महिला गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको खेलमैदानमा मंगलवार भएको अन्तिम सेमिफाइनल खेलमा धनकुटा फुटबल संघलाई १–० गोल अन्तरले पराजित गर्दै उदयपुर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा एक मात्रै गोल उदयपुरकी मनिता तामाङले गरिन् । उनले खेलको ४५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक भएको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । पहिलो हाफमा धनकुटाले उदयपुरविरुद्ध दवाव सिर्जना गरेपनि गोल भने गर्न सकेन । दोस्रो हाफको सुरुवाती चरणमा भने उदयपुरले धनकुटामाथि दवाव सिर्जना ग¥यो ।

१–० गोल अन्तरले पछि परेको धनकुटाले दोस्रो हाफको अन्त्यतिर गोल गर्ने थुप्रै अवसर सिर्जना गरेपनि स्कोर भने गर्न सकेन । मंगलवारको खेलमा उदयपुरकी मनिता तामाङ ‘प्लेयर्स अफ द म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाईन् । यो खेलसंगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

उदयपुरले अब दोस्रो सेमिफाइनलमा बिहिबार नमोबुद्ध युवा क्लब सप्तरीसंग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ । प्रतियोगितामा बुधबारबाट सेमिफाइनलका खेलहरु सुरु हुनेछन् । पहिलो सेमिफाइनलमा आयोजक अल इन वान र मिक्लाजुङ गाउँपालिका मोरङले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको फाइनल खेल बैशाख १६ गते हुने छ । प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिताका संयोजक कृष्णबाबु योञ्जनले जानकारी दिए । बिर्तामोड–१०को ‘अल इन वान’ क्लबको आयोजनामा जारी प्रतियोगितामा झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्