बिर्तामोड, बैशाख १२ । नेपाल अलैंची ब्यवसायी महासंघले अलैंची कटिङ, ग्रेडिङ र प्याकेजिङमा संलग्न मजदुरलाई बिर्तामोडमा तालिम दिएको छ ।

बिर्तामोड नगरपालिकाको सहयोगमा अभिमुखीकरण कार्यक्रम आयोजना गरी मजदुरहरुलाई तालिम दिइएको हो । तालिमको मंगलवार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी नगर प्रमुख प्रसाईले बिदेश जाँदा बिभिन्न समस्या झेल्नु पर्ने भएकाले सीप सिकेर आफ्नै देशमा आत्मनिर्भर बन्न आग्रह गरिन् ।
महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत महासंघकी केन्द्रीय उपाध्यक्ष पार्वता खरेल बिमलीले गरेकी थिइन् ।

कार्यक्रमको औचित्यमाथि अध्यक्ष भट्टराईले प्रकाश पारेको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यहरु उमेश डालमिया, नरेशलाल श्रेष्ठ, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही कार्यक्रमकाबीच महासंघले नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्यहरु उमेश डालमिया र नरेशलाल श्रेष्ठलाई सम्मान गरेको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले गरेका थिए भने समापन महासंघका बरिष्ठ उपाध्यक्ष इन्द्रचन्द बिन्दलले गरेका थिए ।

अभिमुखीकरण कार्यक्रममा अलैंची कटिङ, ग्रेडिङ र प्याकेजिङमा संलग्न ८५ जना मजदुरको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण खाद्य गुण नियन्त्रण कार्यालय झापाका प्रमुख नारायणप्रसाद भट्टराईले गरेका थिए ।बिर्तामोडमा अलैंची कटिङ, ग्रेडिङ र प्याकेजिङमा करिव ३५० जना मजदुर संलग्न रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्