झापा , बैशाख १३ । झापामा असिनासहितको वर्षाले कृषिबालीमा क्षति पुर्‍याएपछि यहाँका किसनालाई राहत उपलब्ध गराउन सिफारिस गरिएको छ ।

गत चैत १७ गते आएको असिनासहितको वर्षाले पाँचवटा पालिकाको एक हजार नौ हेक्टरमा लगाएको कृषिबाली (मकै र तरकारी) क्षति पुगेपछि सोको स्थलगत अनुगमन गरी किसानलाई राहत उपलब्ध गराउन कृषि मन्त्रालयमा सिफारिस गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । क्षति भएको क्षेत्रफल र सम्बन्धित बालीको प्रतिकठ्ठा उत्पादन लागतको आधारमा रू ६ करोड ५१ लाख ९० हजार ६ सय १५ राहत उपलब्ध गराउन सिफारिस गरिएको हो । असिनासहितको वर्षाले झापाको कनकाई र विर्तामोडमा सबैभन्दा बढी क्षति पुर्‍याएको थियो । कनकाई नगरपालिकाका सात वटा वडामा एक हजार नौ सय , दुईजना किसानले सात सय ३९ हेक्टरमा लगाएको मकै र तरकारी गरी रू चार करोड ४६ लाख ६३ हजार ५६ क्षति भएको छ ।

त्यस्तै, विर्तामोड नगरपालिकाको चारवटा वडामा ६ सय ७९ जना किसानले दुई सय ९४ हेक्टरमा लगाएको मकै र तरकारी गरी रू एक करोड ५४ लाख ८८ हजार आठ सय ४४ रुपैयाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । हल्दिबारी गाउँपालिकाको एक वटा वडाका ४० जना किसनाको १५ हेक्टर, भद्रपुर नगरपालिकाको एकवटा वडाका दुईजना किसानको १२ हेक्टर र शिवसताक्षी नगरपालिकाकाको दुईवटा वडामा ९४ जना किसानले ५० हेक्टरमा लगाएको मकै तथा तरकारी बालीमा क्षति पुर्‍याएको कार्यालयले जनाएको छ । उत्पादन लागतको आधारमा मकैको प्रतिकठ्ठा रू दुई हजार १३ र तरकारीको रू पाँच हजार एक सय ३० निर्धारण गरी क्षति विवरण सङ्कलन गरी राहतका लागि सिफारिस गरेर पठाइएको कार्यालय प्रमुख विष्टले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्