एजेन्सी । सिङ्गापुरमा एक किलो गाँजा तस्करी गरेको आरोपमा टङ्गाराजु सुपैयालाई फाँसी दिइएको छ ।
टङ्गाराजु सुपैयालाई फाँसी दिएकोमा राष्ट्रसंघ, समाजसेवी र परिवारले विरोध गर्दै आएका छन् । उनलाई फासी दिने कुरामा विरोध हुँदाहुँदै पनि ४५ वर्षीय टङ्गाराजु सुपैयालाई बुधबार जेलमा झुण्ड्याइएको थियो । उनलाई कमजोर प्रमाणका आधारमा दोषी ठहर गर्दै सजाय दिएको भनिएको छ । उनलाई कानुनी सहायता पनि सीमित मात्र उपलब्ध गराइएको सामाजिक अभियन्ताले बताएका छन् । सिङ्गापुर प्रशासनले भने आफूहरुले कानुनको पालना गरेको बताएको छ । प्रशासनले अदालतको निणर्यमाथि प्रश्न उठाउने कार्यकर्ताहरूकै आलोचना गरेको छ । सिङ्गापुरमा विश्वकै सबैभन्दा कडा लागूऔषध विरोधी कानुन छ । सिंगापुरका अधिकारीहरूले समाजको सुरक्षाका लागि यो आवश्यक भएको बताएका छन् । तर सामाजिक कार्यकर्ताहरूले यस प्रकारको मृत्युदण्डको विरोध गर्दै आएका छन्।
के थियो आरोप
सिंगापुरबाट मलेसियामा एक किलो गाँजा ओसारपसार गरेको आरोपमा ४६ वर्षीय टङ्गाराजु सुपैया दोषी ठहर भएका थिए । उनी गाँजासहित पक्राउ भने परेका थिएनन् । यो तस्करीको मुख्य योजनाकार उनी नै रहेको आरोप लगाएका छन् । सरकारी वकिलले ट्रेस गरिएका दुईवटा मोबाइल नम्बर पनि टङ्गाराजुकै भएको बताए । तर टङ्गाराजुले यस विषयमा आफूले अन्य व्यक्तिसँग कुरा नगरेको दाबी गरेका थिए । उनको एउटा फोन हराएको र अर्को फोन पनि आफ्नो नभएको उनले बताएका थिए । गत वर्ष पनि २२ अप्रिल २०२२ मा अर्का लागू औषध तस्कर नागेन्द्रन धर्मलिंगमलाई फाँसी दिइएको थियो । तीन चम्चा हेरोइनसहित पक्राउ परेका नागेन्द्रन २०१० देखि मृत्युदण्डको पर्खाइमा थिए ।




