झापा, बैशाख १४ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले झापाको बुधबारेमा एमाले अध्यक्ष ओली सहभागी भएको कार्यक्रममा कोशी प्रदेश नामकरण विरोधीहरूले ढुंगामुढा गरेको बताए । उनले उक्त घटना दुखद् भएको भन्दै सरकारको तर्फबाट निन्दा गरेको बताए ।

ढुंगामुढा गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको पनि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले जानकारी दिए । गृहमन्त्री श्रेष्ठले अराजक गतिविधि गर्नेहरुलाई सरकारले छुट दिन नसक्ने पनि बताएका थिए ।

‘प्रहरीले एक जना ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई, त्यस रुपमा प्रस्तुत हुने व्यक्तिलाई अहिले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीहरु यस क्रममा घाइते भएका छन् । प्रहरीले आफ्नो भूमिका सकारात्मक रुपमा अगाडि बढाएपछि केपी शर्मा ओलीजीको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । त्यसपछि उहाँ इलामतर्फ प्रस्थान गर्नुभएको छ । सरकार संविधानको प्रभावकारी कार्यान्वयनको निम्ति दृढ छ । यो संविधानअन्तर्गत लोकतान्त्रिक अधिकारको प्रयोग गर्न र शान्तिपूर्ण रुपमा वैधानिक बाटोबाट आफ्नो विचार राख्न, आफ्नो विचारलाई लागू गर्ने प्रक्रियामा जनमत निर्माण गर्न छुट छ । त्यसको सरकार सम्मान गर्दछ । तर कुनै पनि कोणबाट गैरसंवैधानिक गतिविधि गर्ने, शान्तिपूर्ण गतिविधिको सट्टा अराजक गतिविधि गर्ने, कुनै पनि नेता, कार्यकर्ता वा नागरिकहरुको शान्तिपूर्ण आवत–जावत, भेला, कार्यक्रमलाई अवरोध उत्पन्न गर्ने कुरालाई छुट दिन सकिँदैन,’ गृहमन्त्री श्रेष्ठले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्