झापा, बैशाख १४ । बिर्तामोड नगरपालिकाले न्यायिक समिति र मेलमिलाप केन्द्रका पदाधिकारीहरुका लागि ७ दिने आधारभूत तालिम बिहीवारदेखि सुरु गरेको छ ।

तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् । न्यायिक समिति र मेलमिलाप केन्द्रको कार्यसम्पादनमा थप सुधार ल्याउने उद्धेश्यका साथ आयोजना गरिएको यस तालिममा नगरका सबै वडामा रहेका मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ ।

कार्यक्रम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले मुद्धा आफ्नो र अर्काको नहुने भएकोले धैर्यतापूर्वक गुनासो सुन्न र निर्णयमा पुग्न विवेक प्रयोग गर्नुपर्ने बताइन् । आफू नगर उपप्रमुख हुँदा बिर्तामोडको न्यायिक समिति जिल्लाकै उत्कृष्ट भएको चर्चा गर्दै उनले क्षेत्राधिकार र मुद्धाको प्रकृति अनुसार हेर्न मिल्ने नमिल्ने कुरामा समेत सचेत रहनु पर्ने बताइन् । नगर प्रमुख प्रसाईले प्राकृतिक न्यायको सिद्धान्तका आधारमा रहेर छलफल गर्नु पर्नेमा जोड दिँदै तालिममा सहभागी सबैलाई अव्वल बन्न आग्रह गरिन् । यस्तै नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक नगेन्द्रप्रसाद संग्रौलाले प्रश्न उठ्नेगरी कुनै पनि मेलमिलाप नगराउन सबैलाई आग्रह गरे । बहस पैरवीको समयमा समस्या भए विज्ञहरुसंग सल्लाह लिन सुझाव दिँदै उनले उत्कृष्ट कार्यसम्पादनमा जोड दिए ।

तालिममा अधिवक्ता कमला आचार्य, दिपेन्द्र भट्टराईले प्रशिक्षण दिने नगरकी न्यायिक शाखा अधिकृत टिका लामिछाने खनालले जानकारी दिइन् । उद्घाटन कार्यक्रममा वडा नम्बर १०का वडाध्यक्ष दुर्योधन गुरुङ, शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । । तालिम बैशाख २० गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्