बिर्तामोड,बैशाख १४। बिर्तामोड नगरपालिकाले दुग्ध किसानहरुलाई विभिन्न प्रकारका सामग्री वितरण गरेको छ ।

विहीबार आयोजित एक कार्यक्रमका बीच नगरपालिकाले चिलिङ्ग भ्याट, आल्मुनियमको मिल्क क्यान र दाना पिस्ने मेशिन वितरण गरेको हो ।

पशुपंछी तथा मत्स्य विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम २०७९÷०८० अनुसार चिलिङ्ग भ्याट ३ जना, मिल्क क्यान ९ जना र दाना पिस्ने मेशिन ५ वटा समूहलाई वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलालगायत वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले सामग्री हस्तान्तरण गरे । मिल्क क्यान ९ जनालाई २÷२ वटाका दरले १८ वटा वितरण गरिएको हो।

चिलिङ्ग भ्याट पाउनेमा बिना अधिकारी, तारा बुढाथोकी, खेमप्रसाद अधिकारी , मिल्क क्यान पाउनेमा कर्ण नैना दुग्ध डेरी उद्योग, देवी प्रसाद तिम्सिना, सुवोध ढुंगेल, प्रेम प्रसाद बराल, पुण्यप्रसाद अधिकारी, खेमप्रसाद अधिकारी, घनश्याम बराल, शारदा शाह, दलबहादुर घिमिरे रहेका छन् ।

यस्तै बंगुर तथा बाख्राको दाना पिसाउने मेशिन प्राप्त गर्नेहरुमा मौसमी कृषि तथा पशुपालन समुह, बुङ्गचे पशुपालन तथा कृषि फर्म, विवेक बाख्रा फर्म, सन्देश महिला बंगुरपालन कृषक समूह र समावेशी बहुउद्देश्यीय कृषि फर्म रहेका छन् ।

चिलिङ्ग भ्याट र दाना पिसाउने मेशिनमा ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत कृषकको लगानी रहेको पशुपंछी मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् । मिल्क क्यानमा भने नगरको शतप्रतिशत अनुदान रहेको छ ।

चिलिङ्ग भ्याटको कुल लागत ३ वटाको ७ लाख ३५ हजार, दाना पिसाउने मेशिन ५ वटाको १ लाख ९० हजार र मिल्क क्यानको २ लाख रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ ।

सामग्री वितरण कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर १का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ७ का कृष्ण अविरल खरेल, वडा नम्बर १० का दुर्योधन गुरुङ, नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायत कार्यपालिका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्