झापा, बैशाख १५ । उपनिर्वाचनमा पाएको सफलतासँगै रास्वपाले अब सरकारप्रतिको दृष्टिकोण कस्तो बनाउने हो र आगामी दिनमा कस्तो भूमिका निर्वाह गर्ने हो भन्नेबारे चासो बढ्न थालेको छ ।

यद्यपि पार्टीभित्र भने दुईथरी मत देखिएको छ । एउटा पक्ष सरकारमा जान नहुने र आगामी चुनावलाई ध्यानमा राख्दै अहिलेदेखि नै सडक र संसदमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने सो पक्षको धारणा छ ।

अर्को पक्ष भने सरकारमा गएर जनताका अपेक्षालाई पूरा गर्ने, उनीहरुको समस्यालाई सम्बोधन गर्न पहल गर्नुपर्ने तर्क गर्दछ ।

रास्वपाका प्रवक्ता मुकुल ढकाल रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको बताउँछन् । प्रचण्ड नेतृत्वको सरकारमा आफ्ना नीति तथा कार्यक्रम नसमेटिएकाले समर्थन फिर्ता लिनुपर्ने अवस्थामा पुगेको उनले बताए ।

‘हामीले यसबारे निर्णय गर्न बाँकी छ तर मेन्टालिटी बनाइसकेका छौं,’ उनले भने, ‘हामी समर्थन फिर्ता लिन्छौं । सरकारको नीति तथा कार्यक्रममा हाम्रो एजेण्डा समेटिएको छैन ।’
आफ्नो नीति लागु नहुने सरकारलाई समर्थन दिइरहनुको अर्थ समेत नरहेको ढकालको भनाइ छ ।
तर, रास्वपाकै अर्का प्रभावशाली नेता एवम् सांसदले सरकारलाई दिएको समर्थन कायमै राखिने बताए । ‘हामीलाई जनताको अपार विश्वास र समर्थन पाएका छौं । यो विश्वास हामीले कायम राख्न सरकारमा जानैपर्छ,’ ती नेताले भने, ‘पार्टीको बैठकले सरकारमा जाने विषयमा आधिकारिक निर्णय गर्छ, प्रभावशाली मन्त्रालय लिएर माननीयहरु सरकारमा जानुहुन्छ ।’

रास्वपाको ‘बटमलाइन’ भनेकै उपप्रधानमन्त्री सहित गृह वा अर्थ मन्त्रालय लिएर सरकारमा जाने ती नेताको दाबी छ । प्रधानमन्त्री प्रचण्ड समेत रास्वपालाई सरकारमा लैजाने विषयमा सकारात्मक देखिएका छन् । रास्वपालाई रोजेको मन्त्रालय दिएर भए पनि सरकारमै राख्ने योजना प्रधानमन्त्री प्रचण्डले बनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रास्वपालाई सरकारमा सहभागी गराए सजिलो हुने प्रचण्डको बुझाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्