दमक, बैशाख १५ । झापाको दमकमा जारी प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कोशी प्रदेश विजयी भएको छ ।


कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा दमकको हिमालय माविको खेलमैदानमा भएको खेलमा कोशी प्रदेशले पाहुना टोली सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराएको हो ।
कोशीले सुदूरपश्चिमलाई १७–२५, १७–२५ र २४–२६ को सेटले हरायो । जितसँगै कोशी प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।
रात्रिकालीन प्रतियोगिताअन्तर्गत उद्घाटनको दोस्रो खेलमा लुम्बिनी प्रदेश विजयी भयो । मधेस प्रदेशलाई सोझो सेटमा हराउँदै लुम्बिनीले तीन अंक जोडेको छ । लुम्बिनीले मधेसलाई १२–२५, १४–२५ र १७–२५ को सेटमा हराएको हो ।

लिग एन्ड नकआउट सो प्रतियोगिताअन्तर्गत आज मधेस प्रदेशले गण्डकी प्रदेशविरुद्ध र गण्डकी प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध खेल्ने छन् ।
पाँच प्रदेशको सहभागिता रहेको प्रतियोगितामा लुम्बिनी, मधेस र गण्डकी प्रदेश समूह ‘क’ मा छन् भने कोशी र सुदूरपश्चिम प्रदेश समूह ‘ख’ मा छन् । कर्णाली र बाग्मती प्रदेश भने आन्तरिक विवादका कारण प्रतियोगितामा सहभागी भएनन् ।
पहिचानवादीहरुको कडा विरोधका बीच प्रतियोगिता सफल रुपमा उद्घाटन भएको थियो । पहिचानवादीहरु खेलमैदानमा कोशी प्रदेश नामविरुद्ध नाराबाजी गर्दै कालो झन्डा देखाए पनि आयोजक कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले उनीहरुलाई सम्झाइबुझाइ गरेका थिए ।

प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिंहले गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि सिंह, कोशी प्रदेशका सदस्य सचिव वाग्ले, कोशी प्रदेश भलिबल संघका उपाध्यक्ष वीरबल थापा, पूर्वराष्ट्रिय कप्तान भरतबहादुर शाहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगिता संयोजक थलु राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीले गरेका थिए । प्रतियोगिताको विजेताले नगद तीन लाखसहित ट्रफी, मेडल पाउनेछ भने उपविजेताले एक लाख ५० हजार ट्रफी, मेडल प्राप्त गर्ने नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्काले जानकारी दिए ।
प्रतियोगिताको प्लेयर अफ द सिरिजले नगद २५ हजार पाउनेछ । त्यस्तै, उत्कृष्ट ब्लकर, सेटर, स्पाइकर, लिब्रो र सर्भर तथा प्रशिक्षकले समान १० हजार पाउने उपाध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्