झापा, बैशाख १५ । पाँचथरको फालेलुङ-६ का शान्तकुमार राईले आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएपछि आत्महत्या गरेका छन् ।

५७ वर्षीय राईले ५६ वर्षीय श्रीमती बिमरानीलाई खुकुरी प्रहार गरेर घाइते बनाएपछि नजिकैको जंगलमा गएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार सान्तकुमारकी आमाको वैशाख १३ गते निधन भएको थियो । आमाको निधन पछि मूलघरमा आमाको किरिया गर्न बसेका राईले पिसाब फेर्न जाने बहाना बनाएर आफ्नो घर गई श्रीमतीलाई बिहीबार अपराह्न खुकुरी प्रहार गरेका थिए । पिसाब फेर्न गएका शान्तकुमार घर नफर्केपछि श्रीमतीलाई रगतपक्षे भेटेका स्थानीयले सोधपुछ गर्दा बिमरानीले श्रीमानले खुकुरी प्रहार गरेको बताएकी थिइन् । त्यसपछि खोजी गर्दै जादा घर नजिकै रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याउनका साथै घाइतेलाई उपचारार्थ बीएण्ड सी अस्पताल बिर्तामोड ल्याईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिमरानी सख्त घाइते भएकी छन् । उनले श्रीमतीलाई हत्या गर्ने मनसायले नै खुकुरी प्रहार गरेको र मृत्यु भएको ठानेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्