झापा, वैशाख १५ । झापा शिवसताक्षी नगरपालिकामा एक महिलाको हत्या भएको आशंका गरिएको छ ।

\शिवसताक्षी नगरपालिका वडा नं ६ की ६३ वर्षीया शान्तिमाया प्रधानको शव हिजो बेलुका उनकै घरनजिक फिलुङ्गेको नलले छोपिएको अवस्थामा भेटिएको हो । दुई दिनअघि हत्या गरेर कसैले शव लुकाएको हुनसक्ने आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले शंकास्पद अबस्थामा महिलाको शव भेटिएको बताए । उनले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए । एकल महिला प्रधानको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । छिमेकीले पराल तान्न जाँदा दुर्गन्ध आएपछि वरपर हेर्दा परालको माच छेउमा चप्पल देखेर खोजतलास गर्दा शव भेटिएको प्रहरीको भनाइ छ । वडाध्यक्ष मनोज खुलालका अनुसार प्रधान मंगलबारदेखि हराइरहेकी थिइन् । परालको माच छेउमा फिलुङ्गेको नलले छोपेर राखेको अवस्थामा भेटिएको र शव कुहिएर दुर्गन्ध फैलिसकेको जनाइएको छ । शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

घरबाट शव घिसार्दै लगेको जस्तो देखिएको र शंकास्पद घटना भएकाले गम्भीरताका साथ छानविन गर्न आफूहरुले प्रहरीलाई आग्रह गरेको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्