दमक, बैशाख १५ । दमक ६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरेको छ ।

संस्थाले दमकमा आयोजना गरेको कर्मचारी सम्मान तथा पदोन्नति कार्यक्रममा प्रमुख व्यवस्थापक कुवेरप्रसाद तुम्बापोसहित दर्जन कर्मचारीलाई नगद तथा सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।

संस्थाका अध्यक्ष पदम लिङ्देन ( संकल्प) को अध्यक्षता तथा संस्थाका प्रमुख सल्लाहकार जनकसेन जवेगु, उपाध्यक्ष फुलकुमारी आङ्देम्बे , सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरु, सेवाकेन्द्र व्यवस्थापन उपसमिति पदाधिकारीहरुको उपस्थितिमा सम्मान तथा पुरस्कार वितरण गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा मुख्य कार्यालयमा कार्यरत प्रमुख व्यवस्थापक तुम्बापोलाई कदरपत्रसहित नगद ५ हजार, बिर्तामोड सेवाकेन्द्रका व्यवस्थापक बिनम लिम्बूलाई फाल्गुनन्द साकोस वर्ष उत्कृष्ट कर्मचारी प्रशंसापत्रसहित नगद ५ हजार, मुख्य कार्यालयमा कार्यरत प्रमुख लेखापाल रोशन लिङ्देनलाई अनुशासित कर्मचारी र पूर्ण हाजिर कर्मचारीमा झिलझिले सेवाकेन्द्र प्रमुख तथा लेखापाल अजय राजवंशी, उर्लाबारी सेवाकेन्द्र प्रमुख तथा सेवाकेन्द्र लेखापाल सदिया लिङ्देनलाई प्रशंसापत्रसहित जनही रु २ हजारका दरले पुरस्कृत गरिएको थियो ।

सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत दिलिप सुब्बालाई स्थायी, बजार प्रतिनिधिहरु बर्षा देवान, यादवप्रसाद योङ्हाङ र मुना राईलाई अस्थायी नियुक्ति प्रदान गरिएको संस्थाका अध्यक्ष लिङ्देनले जानकारी दिए ।

संस्थाले संहकारीसम्बन्धी विभिन्न शीर्षकमा कर्मचारीलाई लक्षित गरि आन्तरिक पुनर्ताजगी तालिम समेत सञ्चालन गरेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव देशराज नेम्बाङ र सेवाकेन्द्र लेखापाल अजय राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्