बिर्तामोड, बैशाख १६ । झापाको बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय महिला गोल्डकप फुटबलको उपाधि नमोबुद्ध युवा क्लब सप्तरीले जितेको छ ।

बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको खेलमैदानमा शनिवार भएको फाइनल खेलमा आयोजक अल इन वान क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध सप्तरीले उपाधि कब्जा गरेको हो ।

निर्धारित ६० मिनेटमा एक–एक गोलको बराबरीमा खेल सकिएपछि नतिजाका लागि टाईब्रेकर भएको थियो । टाईब्रेकरमा सप्तरीका खेलाडीले गरेको ५ वटा प्रहारमा ४ वटा गोल हुँदा आयोजक अल इन वानका खेलाडीले गरेको ४ वटा प्रहारमध्ये २ वटा मात्रै गोल भएको थियो ।

टाईब्रेकरमा आयोजककी एलक्स चौधरी र छतरीका चौधरीको प्रहार गोल हुँदा लक्ष्मी श्रेष्ठको प्रहारलाई सप्तरीकी गोलरक्षक पुजा रानाले विफल पारेकी थिइन् । त्यस्तै राष्ट्रिय टिमकी सदस्य समेत रहेकी सबिता राना मगरको प्रहार भने गोल पोष्टमा ठोक्किएर बाहिरिएको थियो ।

सप्तरीका लागि रोशनी क्षेत्रीले गरेको प्रहार आयोजककी गोलरक्षक एलिसा चौधरीले बचाउ गरेपनि टिम कप्तान सुमित्रा तामाङ, कविता श्रेष्ठ, सलिना राना मगर र राष्ट्रिय टिमकी सदस्य समेत रहेकी रश्मि घिसिङको प्रहार भने गोलमा परिणत भएको थियो ।

त्यसअघि आयोजकका लागि मेनुका आलेले ३९ औं मिनेटमा खेलको पहिलो गोल गरेकी थिइन् । नमोबुद्ध युवा क्लब सप्तरीकी रजनी थोकरले खेलको ४६ औं मिनेटमा गोल फर्काउदै बराबरीमा ल्याएपछि नतिजाका लागि टाईब्रेकर भएको थियो ।

बिर्तामोडको अल इन वान क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता सप्तरीले नगद २ लाख २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको आयोजक अल इन वानले १ लाख १ हजार रुपैंयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगितामा राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य समेत रहेकी आयोजककी खेलाडी सबिता राना मगरले ‘प्लेयर्स अफ दी टुर्नामेन्ट’ को उपाधि जितिन् । उनले नगद ७ हजार र ट्रफी पाइन् ।

त्यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्ता सप्तरीकी रजनी थोकरले हाई स्कोररको उपाधि जितिन् । उनले नगद ६ हजार र ट्रफी पाइन् ।

यस्तै उत्कृष्ट गोलरक्षक सप्तरीकी पुजा थापा, बेस्ट मिडफिल्डर सप्तरीकी रश्मि घिसिङ, बेस्ट डिफेन्स आयोजककी खुस्मा राई र बेस्ट स्ट्राइकर आयोजककी लक्ष्मी श्रेष्ठ घोषित भइन् । उनीहरुले जनही नगद ५ हजार र ट्रफी पाए । यस्तै सप्तरीका अरुण राई प्रतियोगिताको बेस्ट कोच घोषित भए । उनले नगद ५ हजार र ट्रफी पाए ।
प्रतियोगिताका विजेता ,उपविजेता टीम र खेलाडीलाई आयोजक अल इन वान क्लबका अध्यक्ष कृष्णबाबु योञ्जन, कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका कार्यकारी वोर्ड सदस्य नन्दा बस्याल, अखिल नेपाल फुटबल एशोसिएसनकी (एन्फा)की सदस्य सरला श्रेष्ठ, बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, उदयपुर र सप्तरीका ८ वटा टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्