झापा , बैशाख १७ । गत साउनमा जिल्ला प्रशासन कार्यालय झापाले आह्वान गर्दा झापाका २४जना मिटरब्याज पीडितहरूले उजुरी दिएका थिए । तर,ती निवेदनउपर खासै कामकार्वाही भएन । यसवर्ष फेरि प्रशासन कार्यालयले उजुरी आह्वान गरेको छ ।

आजदेखि १५ दिनसम्म उजुरी दिन जिल्ला प्रशासन कार्यालयले आह्वान गरेको हो । शुक्रवार प्रशासन कार्यालयले जिल्लाका सबै पालिकाहरुलाई पत्र पठाएर मिटरव्याज पीडितको उजुरी दर्ताका लागि सूचना प्रचारप्रसार गरिदिन परिपत्र गरेको हो । गृह मन्त्रालयले देशभरिका जिल्लामा परिपत्र गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले पनि आजदेखि मिटरव्याज पीडितहरुको उजुरी लिने सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेले बताए । गृह मन्त्रालयबाट गत साउन २८ गते सूचना जारी भएपछि झापामा पनि उजुरी लिइएको थियो । त्यसबेला जिल्ला प्रशासन कार्यालय भद्रपुर र इलाका प्रशासन कार्यालय दमकमा २४ वटा उजुरी परेका थिए । तीमध्ये केही उजुरीमाथि छलफल गराइएको न्यौपानेले बताए ।‘हामी कार्वाही गर्न सक्दैनौं , कार्वाहीका लागि पीडितहरु अदालत जानु पर्छ’ उनले भने,‘केही उजुरीउपर दुवै पक्षबीच छलफल गराएका थियौंं ।’ उजुरी दिएर केही पीडितहरु सम्पर्कमै नआएको उनले बताए । झापामा पनि मिटरब्याजको अपराधबाट धेरैजना पीडित भएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्