झापा , बैशाख १७ । संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ ।
त्यससँगै जोखिमलाई मध्यनजर गरी भोजपुर र धनकुटाको तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ । संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार मकालु गाउँपालिका-३, नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो । अबको केही समयमा नदी पुरानै धारमा फर्कने सूचना पाएको उनले बताए । अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ । सुक्खा पहिरो खसे पनि कुनै ठूलो जोखिम नरहेको उनको भनाइ छ ।