झापा, वैशाख १७ । झापा शिवसताक्षी ६ डाँडागाउँकी ६३ वर्षीया शान्तिमाया प्रधानको हत्यामा संलग्न एकै परिवारका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मृतक शान्तिमायाका छिमकी परिवार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ६५ वर्षिय रतिलाल राजवंशी , उनका छोरा १८ वर्षिय रामकुमार राजवंशी र छोरी २० वर्षिया फूलमाया राजवंशी रहेका छन् । उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए ।
प्रहरीका अनुसार बैशाख १२ गते मंगलबार राति करिब ९ बजेको समयमा एकल महिला शान्तिमायाको हत्या भएको थियो। प्रहरीले उनको शव वैशाख १४ गते बेलुका घरनजिक फिलुंगेको नलले छोपिएको अवस्थामा फेला पारेको थियो ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। छिमेकीले पराल तान्न जाँदा दुर्गन्ध फैलिएपछि वरपर हेर्दा परालको माच छेउमा चप्पल देखेर खोजतलास गर्दा शव भेटिएको डीएसपी रिजालले बताए।
शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। एकल महिलाको हत्या आशंकामा प्रारम्भिक अनुसन्धान गर्दा छिमेकी रतिलालसहित उनका छोराछोरीको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

‘प्रारम्भिक अनुसन्धानबाट रतिलालले एकल महिलालाई कुटपिट गरी घाटी थिचेर हत्या गरिएको देखिन्छ,’ डीएसपी रिजालले भने, ‘महिलाको मृत्युपश्चात् रतिलाल र उनका परिवार मिलेर शवलाई लुकाएको हुनुपर्छ।’

एकल महिला घरमा एक्लै बस्दै आएकी थिइन्। उनी दूध बिक्री गर्थिन् । उनी र रतिलालबीच प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी रिजालले बताए। घटना भएको दिन रतिलाल दूध लिन महिलाको घर गएका थिए। पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान अघि बढाएको उनले बताए। ‘अहिले पनि घटना अनुसन्धानकै क्रममा छ,’ उनले भने, ‘थप विवरण प्रहरीले चाँडै सार्वजनिक गर्ने छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्