झापा, बैशाख १७ । सहकारी व्यवसायमा बेथितिसंगै भ्रम उत्पन्न भएपछि सामूहिक निराकरण प्रयासको लागि झापाका सहकारी संस्थाहरुले एलायन्स गठन गरेका छन् ।

कोअपरेटिभ एलायन्स अफ झापा गठन गरी जिल्लाका सहकारीहरुले एक ठाउँमा उभिने प्रयास गरेका हुन् । प्रारम्भिक चरणमा जिल्लाका ठूला सहकारीहरु नेपाल बहुउद्देश्यीय , सहारा नेपाल साकोस , कर्णाली साकोस, विराट बहुउद्देश्यीय, सतासी बहुउद्देश्यीय, महालक्ष्मी कृषि सहकारी र मेची बहुमुखी सहकारीले मिलेर सो एलायन्स बनाएका थिए । त्यसमा अन्य सहकारीहरु पनि आवद्ध हुँदै गएका छन् । अहिलेसम्म १७ वटा सहकारीहरु एलायन्समा आवद्ध भएको आइतवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सम्मेलनमा एलायन्सका तर्फबाट १४ बुँदे धारणा सार्वजनिक गरिएको छ ।

देशका विभिन्न भागमा केही प्रारम्भिक सहकारी संस्थाहरु समस्याग्रस्त हुँदा सिंगो सहकारी अभियान नै तहसनहस पो भएको हो कि भन्ने भ्रमसहित कतिपय सदस्य र सर्वसाधारणमा सहकारीप्रतिको विश्वासमा शंका उत्पन्न भएको आभाष गराएको र ठीक यही बेला केही व्यक्ति र समूहले सहकारी, लघुवित्त र बैंकबाट लगानी भएको कर्जा तिर्नु पर्दैन भनेर भ्रम फैलाउने र कर्मचारीलाई धम्क्याउने, दुव्र्यवहार गर्ने एवं त्रासको वातावरण सिर्जना गर्ने गरेको पनि पाइएको सहकारीहरुले जनाएका छन् ।

त्यस्तै सहकारी अभियानमा देखिएका हालका समस्या अस्थायी हुन्। यी समस्या सहकारी अभियानका नभई केही सञ्चालक र व्यवस्थापन पक्षका कमजोरी हुन्। यस्ता कमजोरीलाई शून्यमा झार्न र पुनः दोहोरिन नदिन र यसका लागि सबै प्रारम्भिक संस्थाले सहकारीका मूल्य, मान्यता, सिद्धान्त, ऐन नियम, संस्थाको विनियम र संस्थाका निर्णयहरूको पूर्ण पालना गर्न आफूहरु प्रतिवद्ध रहेको उनीहरुले उल्लेख गरेका छन् । कार्यक्रममा नेपाल बहुउद्देश्यीयका अध्यक्ष रामचन्द्र उप्रेती , कर्णाली साकोसका अध्यक्ष टसबहादुर प्रधान ,सतासी बहुउद्देश्यीयका अध्यक्ष रुद्रमणि श्रेष्ठ, विराट बहुउद्देश्यीयका अध्यक्ष मोहन शिवाकोटी , जनशक्ति कृषि सहकारीका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्