आज मलाई एउटा सार्थक सन्दर्भ, संजालको एउटा तस्वीरले सम्झायो। आजको मदन भण्डारी मार्ग र साधुटारको शंकराचार्य पीठमा प्रारम्भ भएको दिन। यो प्रारम्भिक क्षण करिव ८ वर्ष जति भयो। चुरे पदमार्गको पर्यापर्यटन विकास अवधारणाबाट विकसित आजको मदन भण्डारी राजमार्गको प्रारम्भिकताको उद्गम भूमि पवित्र पावन भूमि अर्जुनधारा – १ साधुटारलाई जीवनभर भुल्न सक्तिनँ । यो गाउँका सबै अभिभावक र ऊर्जाशील विकासप्रेमीको उत्प्रेरणाको झिल्को नै यो राजमार्गको मस्तुल हो।

यो कामको पूर्व प्रारम्भमा झोडी , खोल्सी र भिरपाखा केही नभनी पदमार्ग खोज्ने मेरा सारथीहरु लोकप्रिय खनाल , कृष्ण दंगाल , केशव खनाल , बिष्णु ढकाल, रुपनारायण समाल र अरु थुप्रै साथीहरु हुनुहुन्छ। संभव होला कि नहोला भनेर कुरो सुँघ्न संविधान सभा केहिदिन छोडेर सिस्ने साधुटार , भोटेटार , दामाटार , लाप्चेटार , बेलटार , दहालटार , साठीमुरे , सुखानी , शिवपोखरी क्षेत्रको गोप्य अवलोकनपछि यो बिषय मैले संविधान सभाका अध्यक्ष सुवास नेम्बाङलाई सुनाएँ ।उहाँले तुरुन्तै सहयोग गर्छु भन्नुभयो , रविन कोइरालाले लु लागौं भन्नुभो । नेतृत्वको ऊर्जा बोकेर म र मेरा सारथीहरु सिस्नेसाधुटार आयौं ।मैले सधैं सम्मान गर्ने जेष्ठ अभिभावक केदारनाथ खतिवडा, गुरु लक्ष्मी खतिवडा , रामबहादुर निरौला , खगेन्द्र काफ्ले लगायतको बिचमा यो बिषय सुनाइसक्दा उहाँहरुले खुसी हुँदै तुरुन्तै छलफल राख्न मलाई निर्देशन दिनुभयो। सुवास नेम्बाङ, रबिन कोइराला , झलनाथ खनालसहितको छलफल सार्थक ठानें मैले। कहाँ गर्ने ,खाना कसले र अरु ब्यवस्थापन बारे मैले कुरो मात्र झिकेको के थिएँ पुज्य पिताजी केदार गुरुले साधुटारको मुष्ठीदानको ढुकुटीमा धान छ , तिम्रो केपी सांसद हुँदा छानो छाएको गौशालाका गौमाताको दुध घ्यु छ । तिम्रा पाहुनालाई इज्जत गर्छौं ,सबै जुटाउँछौं , कार्यक्रम यहीँ गरौं भन्नुभएपछि लक्ष्मी गुरु र मेरा अभिभावक राम दाई लगायतको समर्थनपछि गरिएको कार्यक्रममा पाहुनाको खाना खाँदाको तस्वीर संजालमा भेट्दा त्यो दिनको याद आयो।

तराई बन्दको बेला माननीय हरि राजवंशी र म मोटरसाइकलमा चुरे राजमार्ग खोज्दै ३ दिनमा झापाबाट काठमाडौं पुग्यौं । गाईघाटमा बद्री खनाल दाईले पु¥याउनुभएको सहयोग कहिल्यै बिर्सन्न म । मोटरसाइकल पंचर टालेर काभ्रेको उकालोको अनकंटार स्थानमा राति ४÷५ जना अपरिचित ब्यक्तिले बाटो छेके । अब के पो होला भन्ने त लाग्यो नै। तर मलाई जीवनमा मान्छेसँग डर लाग्दैन त्यसको २ वटा कारण छ ।
१) जीवनमा गलत गरेको छैन के को डर !
२) मर्न परे पनि डराउनुहुन्न भन्ने भूमिगत कालको पार्टी शिक्षा
माननीय हरि राजवंशी , उदयपुर सिन्धुलीका माननीयहरु, बद्री दाईले पठाउनुभएका २ गाडी उदयपुरका प्रतिनिधिमण्डलसहित हामी संविधान बनेपछि भर्खरै प्रधानमन्त्री बन्नुभएका केपी ओलीज्युकोमा बालुवाटार गयौं र संयुक्त प्रस्ताव पेश ग¥यौं । प्रधानमन्त्री र संविधान सभा अध्यक्षज्युको बिशेष पहलमा त्यही साल मेचीनगरबाट डिपिआर तयारी कार्य प्रारम्भ भयो। केपी ओलीको दोस्रो प्रधानमन्त्री कार्यकालमा काम शुरु भइ हाल निर्माण चरणमा छ।

गुरु केदारनाथ , तपाईको तेजस्वी प्रताप र साधुटार सिस्नेवासीको त्यो प्रभाव मेरो जीवनका थुप्रै सफलतामध्ये एउटा सफलताको आशीर्वाद लाग्दछ। मित्र बुद्धि खनाल र मेरो त्यो बेलाको स्वकीय सचिव पर्वत मगर यो कामका महत्वका ब्यक्ति हुनुहुन्छ । अस्तु।।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्