झापा , बैशाख १८ । एसीसी मेन्स प्रिमियर कपको आजको फाइनल खेल वर्षाका कारण रोकिएको छ ।
मौसम पूर्वानुमानअनुसार आज बिहानको तुलनामा दिउँसो र अपरान्ह पानी पर्ने सम्भावना बढी देखिएको छ । यस्तो अवस्थामा आज बाँकी खेल हुन नसक्ने सम्भावना पनि बढेको छ । एसीसी प्रिमियर कपको लागि भोलि मंगलबार रिजर्भ डे राखिएको छ । रिजर्भ डे भनेको खेलको लागि तय गरिएको दिनमा कारणवश खेल हुन नसके वा अवरुद्ध भए त्यो खेललाई जारी राख्नको लागि छुट्याइएको वैकल्पिक दिन हो । तर, खेल भोलि रिजर्भ डेमा हुने भए पनि भोलि यो खेल फेरि शुन्यदेखि सुरु हुने छैन । आइसीसीले मे २०२१ देखि लागू गरेको नियममा रिजर्भ डेलाई खेलको पुनः सुरुवात नभइ खेलको निरन्तरता भनेर व्याख्या गरेको छ ।
अहिलेसम्म युएइले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाएको छ । अब आज बाँकी खेल हुन नसके भोलि युएइले यही अवस्था अर्थात २७.३ ओभर खेलिसकेको र ९ विकेटको क्षतिमा १०६ रन बनाएको अवस्थाबाट खेल जारी राख्नु पर्नेछ । आज खेल भइसकेर बाँकी रहेको ओभर र विकेटमा युएइले जति रन थप्न सक्छ त्यसैका आधारमा लक्ष्य तय हुनेछ । भोलि युएइले आज खेलिसकेको २७.३ ओभर कटाएर बाँकी रहने २२.३ ओभर खेल्न पाउनेछ । युएइले दुई दिनमा गरी पूरै ५० ओभर खेलेर वा अलआउट नहुँदासम्म जति रन बनाउँछ त्योभन्दा १ रन बढी लक्ष्य तय गरिनेछ र नेपालले त्यही लक्ष्य पच्छ्याउन १० विकेटसहित पूरै ५० ओभर ब्याटिङ गर्न पाउनेछ ।
आज अहिलेसम्म ओभर घटाइएको छैन । यदि आज केहीबेरमा खेल हुन सक्ने अवस्था देखियो र ओभर घटाइयो तर फेरि पानी परेर एक ओभर पनि खेल हुन सकेन भने भोलि रिजर्भ डेमा ओभर घटाइने छैन । तर, आज ओभर घटाइसकेपछि कम्तीमा १ ओभर मात्रै खेल भयो भने रिजर्भ डेको खेल पनि ओभर घटाएरै खेलिनेछ । यदि भोलि पनि पानी परेर खेल पूरा हुन नसक्ने अवस्था भएमा भोलि कति ओभर खेल्न सकियो भन्ने आधारमा नतिजा तय हुनेछ । खेल आज पूरा नभइ भोलिसम्म गयो भने दुवै टिमले कम्तीमा २० ओभर बलिङ गरेको अवस्था भएमा डकवर्थ लुइस विधिबाट नतिजा निकालिनेछ । तर, दुवै टिमले कम्तीमा २० ओभर बलिङ गर्न पाएनन् भने त्यस्तो अवस्थामा समूह चरणमा माथि रहेको टिम विजेता हुनेछ । यस्तोमा समूह चरणमा नेपालको सबैभन्दा बढी ७ अंक भएको र युएइको ६ अंक भएको आधारमा नेपाल विजेता घोषित हुनेछ ।