झापा, बैशाख १८ ।श्रीमान् फुसन मुर्मू सवारी ज्यान मुद्धामा विगत ८ महिनादेखि झापा कारागारमा छन् । यता काखको १० महिनाका छोरासहित तीन सन्तानको पालनपोषणको अभिभारा बोकेकी बाह्रदशी ७ डाँगीवारीकी राधा मुर्मू क्यान्सर रोगसंग लडिरहेकी छन् ।

१० महिनाका छोरा , ५ वर्ष र ९ वर्षका दुई छोरीसहित तीन नाबालक छोराछोरीको संरक्षणका लागि आमा राधाले प्राणघातक क्यान्सर रोगलाई परास्त गर्नु नै पर्ने छ ।त्यसका लागि उनलाई अरुबाट चाहिएको छ हौसला र आर्थिक सहयोग ।
घाटीमा समस्या भएपछि शुरुमा उनलाई थाइराइडको शंका लागेको थियो । अस्पतालमा चेकजाँच गराउँदा चिकित्सकले क्यान्सर रोग भनेर बताएपछि उनी आकाशबाट खसेजस्तै भइन् । श्रीमान् कारागारमा अनि सम्पत्तिको नाममा दश धुर जग्गा र सानो एकतले घर । क्यान्सर रोगको उपचारका लागि ठूलो समस्या देखा पर्यो । उनले सरसापट र ऋणपान गरेर गत माघ २५ गते घाटीको अप्रेशन गराएकी थिइन् । क्यान्सर रोगलाई निरन्तर उपचार गर्नेुपर्ने हुन्छ । तर, आर्थिक अभावका कारण उनले थप उपचार गर्न सकेकी छैनन् ।
यस्तो अबस्थामा गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सरपीडित सहयोग संस्थाले आज पीडित मुर्मूकै घरमा पत्रकार सम्मेलन गरी सहयोगका लागि आव्हान गरेको छ । संस्थाका अध्यक्ष भूपाल बस्नेतले तीनजना नाबालक छोराछोरीका लागि आमा मुर्मूको ज्यान बचाइदिन सबैसंग आग्रह गरेका छन् । कार्यक्रममा बाह्रदशी ७ का वडा अध्यक्ष मित्र भट्टराई ,बाह्रदशी जेसीजका अध्यक्ष लक्ष्मी उप्रेती ,निवर्तमान अध्यक्ष पुष्पलाल धमला , नेपाली कांग्रेस हल्दिवारीका सभापति गंगा प्रसाई ,स्थानीय युवा टंक कार्कीले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । पीडित परिवारले माछापुछ्रे बैंकमा राधा मुर्मूको नाममा रहेको ४७०५५४०१०५९५०५३४ नं को खातामा रकम जम्मा गरी सहयोग गरिदिन अनुरोध गरेका छन् ।



