झापा, बैशाख १९ । संस्थागत विद्यालयको दबाबमा सरकारले विद्यालय तहको अनिवार्य सामाजिक अध्ययन विषय अंग्रेजीकरण गर्ने तयारी गरिरहेको छ ।

यसको गतिलो उदाहरण राष्ट्रिय परीक्षा बोर्ड बनेको छ । यही वैशाख २६ गते सुरु हुने कक्षा १२ को परीक्षाका लागि सामाजिक विषयको नमुना प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा बनाएर आफ्नो वेबसाइटमा राखेपछि सरकारी नियत प्रस्टसँग झल्किएको हो । उक्त नियतको अहिले चौतर्फी विरोध भइरहेको छ । दुई वर्षअघि मात्र नेपाली भाषा र राष्ट्रियता प्रवद्र्धन गर्न भनेर विज्ञहरूसँगको बृहत् छलफलपछि विद्यालय तहको सामाजिक अध्ययन विषयलाई नेपाली भाषामा पढाउन थालिएको हो । तर, हाल पाठ्यक्रम विकास केन्द्रले भने परीक्षा बोर्डकै सुझावका आधारमा वैशाख २० गते बस्ने परिषद्को बैठकमा अंग्रेजी भाषामा पनि प्रश्नपत्र सोधिने गरी निणर्य गराउने तयारी गरिरहेको छ । बोर्डका उपनियन्त्रक कृष्णप्रसाद घिमिरेले गत वर्ष कक्षा १२ को सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा मात्र सोधिँदा धेरै विद्यार्थीले प्रश्नका भाषा, शब्द र शब्दावली बुझ्न नसकेकाले धेरै विद्यार्थी न्यून ग्रेडमा परेको सुनाए । ‘दुई वर्षअघिदेखि सामाजिक विषयको पठनपाठन कक्षा १२ मा नेपाली भाषा माध्यमबाट भइरहेको छ । प्रश्न पनि नेपालीमै सोधियो । तर धेरै विद्यार्थीले आफूले प्रश्नै नबुझेको भनेर लिखित निवेदनै दिए,’ उपनियन्त्रक घिमिरेले बताए , ‘वैशाख १८ गतेबाट वेबसाइटमार्फत सुझाव संकलन गर्ने काम भएको छ । निजी विद्यालय, विदेशी सम्बन्धनमा नेपालमा खुलेका विदेशी स्कुल र तिनका विद्यार्थी तथा अभिभावकले प्रश्न अंग्रेजीमा पनि सोधिनुपर्ने सुझाव दिएका छन् ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्