झापा, बैशाख १९ । नेपालका सन्दीप लामिछाने एसीसी प्रिमियर कप प्रतियोगिताको उत्कृष्ट खेलाडी छनोट भएका छन् ।

उत्कृष्ट खेलाडीको अवार्ड हात पारेपछि लामिछानेले यो सबैका लागि खुसीको पल भएको बताए । उनले भने, ‘खेल भनेकै सबैले आ-आफ्नो तरिकाले योगदान दिने हो । आज पनि तेस्रो स्थानमा उक्लिएर गुल्सन झाले राम्रो योगदान दिए ।’ उनले आफ्नो समकक्षी बलर ललित राजवंशीको पनि प्रशंसा गरे । ललितले हरेक दिन आफ्नो खेलमा सुधार गरिरहेकाले उनको भविष्य उज्जवल रहेको लामिछानेको भनाई थियो । उनले खेल हेर्न त्रिभुवन विश्वविद्यालको मैदानमा पुगेका सम्पूणर् दर्शकलाई धन्यवाद दिए । लामिछानेले भने, ‘फ्यानहरु हाम्रो परिवार हुनुभएको छ । हरेक दिन घामपानी नभनेर आउनुहुन्छ । तपाईंको सामु खेल्न पाउँदा रमाइलो लाग्छ ।’ नेपालको क्रिकेटलाई अझै माथि पुर्‍याउने पनि उनले प्रतिबद्धता व्यक्त गरे । प्रतियोगिताको फाइनलमा नेपालले यूएईलाई हराउँदै एसिया कपमा स्थानमा बनाउन सफल भएको छ । प्रतियोगितामा ओमानका बिलाल खान उत्कृष्ट बलर छानिए भने यूएईका भिर्तिया अरविन्द उत्कृष्ट ब्याटर घोषित भए । फाइनल खेलमा गुल्सन झा प्लेयर अफ म्याच घोषित भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्