झापा, बैशाख १९ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा नीरज राई विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईका छोरा नीरज विरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए । शरणार्थीको नाममा ठगी धन्दा चलाएको आरोपमा प्रहरीले डा. ईन्द्रजित राईलाई मंगलबार नियन्त्रणमा लिएको छ । २०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका हुन् । आरोपी मध्येका सानु भण्डारीले नेपाली नागरिकलाई नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने बारे नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई जानकारी भएको बयान दिएका छन् । पूर्व मन्त्री टोपबहादुर रायमाझी नातामा आफ्नो ‘मामा’ पर्ने भण्डारीले बताएका छन् । ५० वर्षीय भण्डारीले टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीको नाम पनि बयानमा खुलाएका छन् । एमाले सचिव रायमाझीसँग यसबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्