झापा , बैशाख २० । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेन बिच भेटवार्ता भएको छ ।

कम्बोडियाको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनका बिच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा कम्बोडिया र नेपालका बीच सिधा हवाई सेवा सञ्चालन गर्ने र द्वन्द्वत्तर दुई देशका बिचको शान्ति प्रक्रियाका अनुभवहरू आदान प्रदान गर्ने विषयमा छलफलसमेत भएको छ । अध्यक्ष तिमिल्सिनाले दुई तिहाइ भन्दा बढी बौद्दमार्गी रहेको कम्बोडिया र गौतम बुद्धको जन्मस्थान नेपालका बीच सिधा हवाई सेवा सञ्चालन गर्दा त्यसले धार्मिक पर्यटनको विकास हुने धारणा राखेका थिए । नेपाल गौतम बुद्धको जन्मथलो भएकाले नेपाल बौद्ध धर्मावलम्बीहरूको लागि महत्वपूणर् गन्तव्य रहेको उनको भनाई थियो । ‘गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूरा भई सञ्चालनमा आइसकेकोले नेपाल र कम्बोडियाबीच सिधा हवाई सम्पर्क स्थापित गर्न आवश्यक छ’ उनले भने । कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुन सेनले सिधा हवाई सेवा सञ्चालनका आफ्नो देश सकारात्मक रहेको बताए । गौतम बुद्धले देखाएका शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरू विश्वभर बढेको अवस्थामा यसले शान्तिको सन्देश फैलाउन पनि सहयोग पुग्ने विश्वास दुवै जनाको थियो । नेपाल र कम्बोडियाले इतिहास र वर्तमानमा द्वन्द्वलाई नजिकबाट देखेका भोगेको हुनाले द्वन्द्वपछिको अनुभव आदान प्रदान गर्न पनि दुई पक्षीय सम्बन्ध विस्तारमा पनि जोड दिइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्