दमक , बैशाख २०। दमकमा आयोजित एक कार्यक्रमका सहभागीहरुले निष्पक्ष र स्वतन्त्र पत्रकारितामा जोड दिएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुधवार नेपाल पत्रकार महासंघ झापा शाखाले दमकमा आयोजना गरेको अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक विषयक अन्तरक्रिया र प्रशिक्षण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
प्रमुख अतिथि गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले उद्घाटन गरेको कार्यक्रम पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो । नगर प्रमुख सुवेदीले पत्रकारले अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक प्रयोग गर्दैगर्दा तथ्यमा आधारित समाचार लेख्नुपर्ने बताए । अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन समाचार लेखेमा त्यसले समाजमा नकारात्मक असर पुग्ने भएकोले यसप्रति पत्रकार सधै सचेत हुनुपर्ने उनको भनाइ थियो ।
प्रशिक्षण कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रताका विषयमा मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनाल, नेपालमा प्रेस स्वतन्त्रता हननको अवस्था तथा सूचनाको हकबारे महासंघका केन्द्रीय सदस्य अमर खड्का र मल्टिमिडिया तथा क्यामेरा ह्यान्डिलिङको बारेमा कान्तिपुर टेलिभिजनका संवाददाता गणेशमान मुखियाले सहजीकरण गरेका थिए ।

महासंघका कोशी प्रदेश कोषाध्यक्ष विमल लामिछाने, दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्वरुबल्लव निरौला, महासंघका पूर्व अध्यक्ष गोविन्दचन्द छेत्री, नेपाल प्रेस युनियनकी सचिव तथा नारी सञ्चार गृहकी अध्यक्ष रेजिना रोदन, प्रेस चौतारीका प्रदेश महासचिव गोपाल झापाली, प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष कमान देवानलगायतले अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका विषयमा आफ्नो भनाइ राखेका थिए ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाले प्रकाशन गरेको २०८० सालको क्यालेण्डर विमोचन गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष केशव भट्टराईले स्वागत तथा सहसचिव अर्जुन राजवंशीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्