झापा , बैशाख २१ । नक्कली भुटानी शरणार्थी बनाएर ‘मोटो रकम असुल गर्ने’ धन्दामा संलग्न उच्च राजनीतिक व्यक्तित्वदेखि प्रशासकहरू धमाधम पक्राउ पर्न थालेका छन् ।

नक्कली शरणार्थी बनाउने गिरोह पक्राउ परेपछि उनीहरूले राजनीतिक व्यक्तित्व र प्रशासकको पोल खोल्दै गएका छन् । नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै गिरोहले ८ सय ७५ जनासँग १० देखि ५० लाखसम्म रकम उठाएको प्रहरीको अनुमान छ । यसप्रकरणमा पूर्वऊर्जामन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएको छ । उनका छोरा सन्दीप यसै प्रकरणमा मुछिएकाले बुधबार नै बुटवलबाट पक्राउ परेका छन् । यस्तै उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे पनि बुधबार पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार पाण्डेलाई थुनामा राख्न बुधबार नै जिल्ला अदालत काठमाडौंले ३ दिनको म्याद जारी गरेको छ । कार्की भन्छन्, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कागजात बनाउने र रकम असुली गर्ने धन्दामा हाइप्रोफाइल व्यक्तिको पनि सहभागिता देखिएको छ ।’ अपराधमा जोसुकै संलग्नता भए पनि उन्मुक्ति नपाउने कार्कीले बताए ।

शरणार्थी प्रकरणमा अर्बौं ठगी गरेको भन्दै उजुरी परेपछि एमाले नेता टोपबहादुर रायमाझीका सहयोगी सानु भण्डारी र कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्वस्वकीय सचिव केशव दुलालसहित मोरङका सागर थुलुङ, पाँचथरका टंक गुरुङ र दाङका सन्देश शर्मा यसअघि नै पक्राउ परेका छन् । उनीहरूविरुद्ध सांगठित अपराधमा मुद्दा दर्ता भई जिल्ला अदालत काठमाडांैमा मुद्दा चलिरहेको छ । मंगलबार बिहान पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ डा. इन्द्रजित राई पनि पक्राउ परेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा इन्द्रजित राईका छोरा निरज राईको पनि संग्लनता भेटिएपछि उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । निरजलाई भने अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । बुधबार एमाले नेता टोपबहादुर रायमाझीका बाबु-छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी हुनु र पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि पक्राउ परेसँगै प्रहरीको अनुसन्धान हाइप्रोफाइल तिर सोझिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्