झापा , बैशाख २२ । नेपालमा आज लाग्ने पेनम्ब्रल(विरल छाया) चन्द्र ग्रहण लाग्ने छ ।

पेनम्ब्रल चन्द्रग्रहण शुक्रबार राति ८ बजेर ५९ मिनेटमा सुरू भइ ११ः०७ बजे मध्य हुँदै शनिबार बिहान १ बजेर १६ मिनेटमा सकिने छ । यो चन्द्रग्रहण खग्रास (पूरै ढाकिने) वा खण्डग्रास (केही भाग ढाकिने) नभएर बिरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्र ग्रहण हो । वैज्ञानिक मान्यतामा यो ग्रहणको अस्तित्व देखिए पनि शास्त्रीय मान्यतामा नदेखिने हुँदा त्यस सम्बन्धी धार्मिक/सांस्कृतिक मान्यताहरू लागू हुँदैनन् । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो । यस्तो छाया दुई प्रकारका हुन्छन् : सघन छाया र विरल छाया । यदि चन्द्रमा पृथ्वीको सघन छायामा परे खग्रास वा खण्डग्रास चन्द्र ग्रहण हुन्छ भने विरल छायामा पर्दा पेनम्ब्रल चन्द्र ग्रहण हुन्छ । यो ग्रहण नांगो आँखाले खासै छुट्याउन नसकिने हुनाले प्रचलनमा रहेको पञ्चाङ्ग तथा भित्तेपात्रोहरूमा यसको चर्चा नहुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । ’यो ग्रहणको बेला तस्बिर खिचेर केही वैज्ञानिक परीक्षण गर्न सकिने हुनाले वैज्ञानिक समुदायको लागि यसको ठूलो महत्व छ,’ उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्