झापा, बैशाख २२ । भ्रष्टाचारको आरोपमा नापी कार्यालय चन्द्रगढीका प्रमुख नापी अधिकृत दुर्गादास महर्जन निलम्बनमा परेका छन् ।

नापी कार्यालय चावहिल, काठमाडौँका प्रमुख नापी अधिकृत रहँदा महर्जनले भ्रष्टाचार गरेको बिशेष अदालतमा आरोपपत्र दायर भएपछि उनी बैशाख ८ गते निलम्बित भएका हुन् । चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत महर्जन, चावहिलकै तत्कालीन मालपोत अधिकृत बिष्णुप्रसाद काफ्लेसमेत ८ जना उपर सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रेस विज्ञप्ति जारी गरी काठमाडौँ, कागेश्वरी मनहरा नगरपालिका, साविक गोठाटार र साविक मुलपानी गा.वि.स. वडा नं. १ख, का कित्ताहरु काठमाडौँ विकास प्राधिकरणको सहमतिविना स्मार्ट सिटीअन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुशी जोडी, नक्सामा नभएको क्षेत्रफललाई कानूनविपरीत कित्ताकाट गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कित्ताकाट गर्दा अनधिकृतरुपमा नक्सा परिवर्तन गरी टायल चेकबाट क्षेत्रफलमा बढ कायम गर्ने र सोहीबमोजिमको राजीनामा लिखत पारित गरी गलत लिखत तयार गर्ने भ्रष्टाचारजन्य कसुरमा संलग्न प्रतिवादीहरुउपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बैशाख ८ गते विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्