झापा, बैशाख २३ । भारतीय सिमावर्ती क्षेत्रबाट हुने स्याउ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कारबाहीमा परेका छन् ।

वैशाख २३ गते झापाको केचनाबाट तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १ सय १५ कार्टुन फूजी स्याउ सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो । उक्त स्याउ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म घेराबारी झापाका प्रहरी नायब उपरीक्षक सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका प्रहरी निरीक्षक ओकिल धानुक कारबाहीमा परेका हुन् । तस्करीमा संलग्न रहेको आरोपमा कारबाहीस्वरूप उनीहरु सशस्त्र प्रहरी बल नेपाल वराह बाहिनी मुख्यालय सुनसरीमा तानिएका हुन् ।

प्रहरीले कचनकवलस्थित लोदावारी चोकमा मे १ ज २८०४ नम्बरको टाटा गाडीमा १ सय १५ कार्टुन स्याउ बरामद गरेपछि सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईंको संयोजकत्वमा छानबनि समिति गठन भएको थियो । छानबिनका क्रममा शर्मा र धानुकको समेत संलग्नता देखिएपछि अनुसन्धानका लागि मुख्यालय तानिएको सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक डीआईजी अञ्जनीकुमार पोखरेलले बताए । शर्माको ठाउँमा डिएसपी प्रभात गौतम र केचनामा प्रहरी निरीक्षक जितेन्द्रबहादुर बस्नेतलाई ल्याइएको छ । छानबनि समितिले प्रतिवेदन बुझाउन बाँकी रहेको बताउँदै पोखरेलले प्रारम्भिक छानबिनको क्रममा घटनामा दुबै जनाको संलग्न रहेको देखिएकोले प्रतिवेदन आएपछि दोषी ठहरेमा थप विभागीय कारबाही हुने जानकारी दिए ।

यसैबीच बरामद गाडीसहितको स्याउ जफत गरेर १४ लाख ५६ हजारमा लिलामी गरिएको राजस्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ । यसअघि पनि सुनसरीमा लौकहीमा ३ ट्रक स्याउ तस्करीमा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीको संलग्नता पुष्टि भएको थियो । भारतीय सीमावर्ती क्षेत्रबाट हुने तस्करीमा प्रहरीकै संगलग्नता हुने गरेको गुनासो बढेपछि पुरानो टोलीलाई फिर्ता बोलाएर नयाँ टोली पठाउन सुरु गरिएको डीआईजी पोखरेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्