झापा, बैशाख २४ । पूर्वीनाका काँकडभिट्टामा चार वर्षअघि जडान गरिएका ‘सीसी क्यामेरा’ बिग्रिएपछि नयाँ थप्न सुरु गरिएको छ ।

भारतसँग सीमा जोडिएको र भुटान तथा बंगलादेशबाट नजिक रहेको कारण मेचीनगर-६ स्थित काँकडभिट्टा सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ । सहरका सबै सीसी क्यामेरा काम नलाग्ने भएपछि मेची सामुदायिक सेवा केन्द्र र इलाका प्रहरी कार्यालयको पहलमा स्थानीय जनसहभागिता जुटाएर यसै साता बजार र मुख्य चोकमा २६ वटा नयाँ सीसी क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए । सीमानाकामा आवश्यक निगरानी र अपराध न्यूनीकरणका लागि सीसी क्यामेरा अतिआवश्यक रहेको र बजार क्षेत्रमा अझै अपर्याप्त भएको उनको भनाइ छ । मेची भन्सार कार्यालय र इलाका प्रहरी कार्यालय अगाडि जडान गरिएका १६ वटा क्यामेरा भने पहिल्यैदेखि चालु अवस्थामा छन् । पूर्वीनाका काँकडभिट्टामा चार वर्षअघि मेचीनगर नगरपालिकाको सहयोग र मेची सामुदायिक सेवा केन्द्रको सहकार्यमा १८ लाखको लागतमा २३ वटा सीसी क्यामेरा बजारको महत्वपूणर् स्थानमा जडान गरिएका थिए । ती सबै क्यामेरा एक वर्षअघि नै त बिग्रिए, कि त तस्करले फुटाइदिए

“पूर्वीनाका अत्यन्त महत्वपूणर् र संवेदनशील भएका कारण यहाँ हरेक गौडा-गौडामा सीसी क्यामेराको आवश्यकता छ”, उनले भने, “पहिलेका सबै बिग्रिइसकेका रहेछन् । सीमातिरका १६ वटा चलिरहेका थिए । भर्खरै २६ क्यामेरा बजारमा जडान गरिएको छ । यतिले पुग्दैन ।” अहिले जडान गरिएका सबै सीसी क्यामेराको कन्ट्रोलरुम प्रहरी कार्यालयमै रहेको छ । काँकडभिट्टा क्षेत्रमा अपर्याप्त भएका कारण संघीय सरकारसँग थप बजेट मागेर सहरमा सीसी क्यामेराको जालो बिछ्याउने मेची सामुदायिक सेवा केन्द्रको योजना छ । प्रहरी नायब उपरीक्षक भारतीले हरेक टोलका विकास समितिहरूले आफ्नै पहलमा सीसी क्यामेरा जडान गर्नसके र बैंक तथा वित्तीय संस्थाले बजार र सडकमा सार्वजनिक सीसी क्यामेरा राख्न अग्रसरता देखाउने हो भने सहरमा अपराध न्यूनीकरण, नियन्त्रण र अपराधीको पहिचानमा सहजता हुने बताए । मेचीनगरको अन्य सहरमा पनि पर्याप्त मात्रामा सीसी क्यामेरा जडान गरिएका छैनन् । मेचीनगरको वडा नं ६ मा रहेको काँकडभिट्टा पूर्वीनाका हो भने वडा नं १० को धुलाबारी, वडा नं ७ को इटाभट्टा र वडा नं १३ को चारआली पूर्वपश्चिम राजमार्गमा रहेका ठूला सहर हुन् । यी चारवटै सहरको अधिकांश स्थानमा कि त सीसी क्यामेरा जडान गरिएका छैनन् कि त जडान भइसकेका पनि बिग्रिइसकेका छन् ।

दुई वर्षअघि धुलाबारी चोकमा स्थानीय नगरपालिका र बजार व्यवस्थापन समितिको सहकार्यमा सीसी क्यामेरा जडान गरिएका थिए । अहिले ती क्यामेरा थोत्रो बनेका छन् । धुलाबारी चोकमा रहेको प्रहरीको ट्राफिक बिटमा थन्क्याइएको कन्ट्रोलरुममा राखिएको टिभी स्क्रिनमा माकुराले जालो लगाएको छ । धुलाबारी, इटाभट्टा र चारआली बजार क्षेत्रमा नयाँ सीसी क्यामेरा जडानको पहल भइरहेको छ । मेचीनगरको वडा नं ९ र १० ले सीसी क्यामेरा जडानका लागि बजेट छुट्याएका छन् । तर जनसहभागिताको कुन अवधारणाबाट योजना अघि बढाउने भन्नेमा एकमत हुन नसक्दा वडाको बजेट खर्च भएको छैन । सहर र सडकमा जडान गरिएका सीसी क्यामेराको नियमित हेरचाह र मर्मतसम्भार नहुँदा समस्या भएको धुलाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष रविन बस्नेतले बताए । नगरपालिका, वडा कार्यालय, वाणिज्य संघहरू र बजार व्यवस्थापन समिति मिलेर सहरलाई प्रविधियुक्त सुरक्षित सहर बनाउन सकिने उनले बताए । उनले स्थानीय बैंक तथा वित्तीय संस्था र ठूला उद्योगीले आफ्ना लागि जडान गरिएका सीसी क्यामेरामध्ये केही थान सार्वजनिक हितका लागि सडकतिर लक्षित गराउनुपर्ने सुझाव दिएका छन् । ठूला बैंकले जडान गरेका सीसी क्यामेरा आफ्नो निजी ढोका र कोठाभित्र मात्र सीमित तुल्याउने गरेका उनको दाबी छ । पूर्वीनाका अन्तर्राष्ट्रिय सुरक्षाका दृष्टिले समेत संवेदनशील भएकाले राज्यले सडक, बजार र सीमावर्ती चोकमा शक्तिशाली सीसीक्यामेरा जडान गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्