झापा, बैशाख २६ । बिर्तामोड १० स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विवाद सल्टिएको छ ।

विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर लिम्बू सेवानिवृत भएपछि नियम मिचेर विद्यालयका कनिष्ठ शिक्षक भवानी शिवाकोटीलाई प्रधानाध्यापक नियुक्त गर्न खोज्दा विवाद भएको थियो । लिम्बूपछि वरिष्ठताको आधारले जयकुमार झा हुँदाहुँदै उनीभन्दा कनिष्ठ शिक्षक भवानी शिवाकोटीलाई प्रधानाध्यापक नियुक्त गर्न खोज्दा विवाद भएको थियो ।

आफू सेवानिवृत हुने बेलामा लिम्बूले वरिष्ठताको आधारमा झालाई नदिई शिवाकोटीलाई कार्यबाहक प्रधानाध्यापकको जिम्मेवारी दिएका थिए । विद्यालयमा पछि आएका जुनियर शिक्षक शिवाकोटीलाई सेवानिवृत लिम्बूलगायतले प्रअ नियुक्त गर्ने षडयन्त्र गरेकोमा त्यसलाई चिर्न सफल बनेको बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङले बताए । झाले विगत ३० वर्षदेखि सो विद्यालयमा पठनपाठन गराउँदै आएको बताइएको छ ।

यसैबीच सेवानिवृत्त प्रअ लिम्बूले अभिभावकहरुको चर्को विरोध हुँदाहुँदै वडाध्यक्ष गुरुङ र कांग्रेस कार्यकर्ताहरूको दबावमा झालाई प्रधानाध्यापक नियुक्त गरेको आरोप लगाएका छन् । उनले प्रतिक्रिया दिँदै भने ‘वास्तवमा मैले प्रअ नियुक्त गर्ने होइन ।यो व्यवस्थापन समितिले गर्ने हो ।मैले छाड्ने बेलामा व्यवस्थापन समितिले व्यवस्था नगरेसम्मको लागि जो कसैलाई पनि निमित्त दिने हो ।मेरो षड्यन्त्र कसरी हुन्छ बरु वडाध्यक्ष गुरुङ र कांग्रेसका साथीहरूको दवाबमा अभिभावकहरुको चर्को विरोध हुँदाहुँदै उहाँहरुले झालाई निमित्त प्रअ नियुक्त गरेको भनिएको छ।’
यसैबीच निमित्त प्रअ नियुक्त गरिएका झामाथि विभिन्न १२ वटा आरोप लगाउँदै अभिभावकहरुले उनको राजीनामा माग गरेका छन् । रामदर्शन गुरुङको अध्यक्षतामा रहेको विद्यालय व्यवस्थापन समितिले बैशाख २० गते झालाई निमित्त प्रअ नियुक्त गरेको थियो । अध्यक्ष गुरुङलाई बैशाख २४ गते राजीनामा माग गरिएको ज्ञापनपत्र बुझाइएको जनाइएको छ । झालाई प्रधानाध्यापक नियुक्त गरिएपछि महेन्द्रज्योति माविमा विवाद झन् बढेर गएको छ ।

2 वटा प्रतिक्रिया

  1. तेस्तै हो एमालेको क्षेत्रमा काङ्गे्सको शीक्षक कहाँ चल्छ र।।।।

  2. हामी पनि स्थानिय नै हो ।। गुटबन्दि सिर्जना चाहिँ अरु केही शिक्षक जस्ले किताब बोक्ने झोला छोडेर सङ्गठनको झोला बोकेको प्रष्ट देखिन्छ।।।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्