झापा , बैशाख २६ । कोशी प्रदेश नामकरणविरुद्ध आन्दोलित पहिचानवादी र प्रहरीबीच आज साँझ झापाको दमकमा भडप भएको छ ।

झडपमा एक दर्जन घाइते भएका छन् । पहिचानवादीहरुले राँके जुलुस निकाल्नेक्रममा झडप हुँदा प्रहरी र प्रदर्शनकारी घाइते भएका हुन् ।

प्रदर्शनकारीतर्फ अर्जुनधाराकी निर्मला लिङ्देन लिम्बू र कमल १ चुलाचुलीका गजेन्द्र फागो घाइते भएका छन् । उनीहरुलाई गोली लागेको जनाइएको छ । लाइफलाइन अस्पताल दमकमा प्रारम्भिक उपचारपछि उनीहरुलाई बिर्तासिटी हस्पिटल बिर्तामोड ल्याइएको छ । त्यस्तै प्रहरीतर्फ १०जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए । उनले इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोजकुमार लामासहितका प्रहरीहरु घाइते भएको बताए । घाइते प्रहरीहरुलाई उपचारका लागि अस्पतालतर्फ लगिएको उनले जानकारी दिए ।

दमकको पश्चिम बसस्टेण्डबाट ठुलो संख्यामा निकालिएको राँके जुलुस नारावाजी गर्दै स्थानीय गणतन्त्र चौंकमा पुग्दा दोहोरो झडप भएको थियो । प्रहरीले राँके जुलुसको आगो नियन्त्रणमा लिने क्रममा आन्दोलनकारीसंग झडप हुन पुगेको थियो ।


झडपका क्रममा आन्दोलनकारीले प्रहरीलाई लखेटेको थियो । साथैं,प्रदर्शनकारीहरुले करिव एक घण्टा बढी समय राजमार्ग नै कव्जामा लिएका थिए । यसैवीच, प्रदर्शनकारीले कार्यक्रमस्थलमा सवारी गुडाएको भन्दै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. ८ ख. १४७६ नम्बरको ट्रक र एउटा सिटी सफारीलाई तोडफोड गरि क्षति पुर्याएका छन् ।झडपका क्रममा आन्दोलनकारीहरुले सुरक्षाकर्मीमाथि ढुंगा, लाठी आदि प्रहार गरेका थिए भने सुरक्षाकर्मीले हवाइफायर गर्नुका साथै केही सेल अश्रुग्याँस प्रहार गरेर भिडलाई तितरवितर बनाउने प्रयास गरेको थियो । अश्रुग्याँसको असर दमक चोक आसपासका होटल तथा पसलमा बसेका व्यवसायी र सर्वसाधारणसम्म परेको छ । अश्रुग्याँसका कारण आँखा पोलेको उनीहरुले बताएका छन ।
कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले सोमबार मात्रै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्