झापा, बैशाख २७ । झापाको दमकमा हिजो साँझ राँके जुलुसका क्रममा प्रदर्शनकारीहरु आक्रामक बन्दा प्रतिकारमा सुरक्षाकर्मीले गोली चलाएको प्रहरीले स्वीकार गरेको छ ।

प्रहरीको गोली लागेर कमल गाउँपालिका– १ स्थित चुलाचुलीका गजेन्द्र फागो घाइते भएका छन् । उनको गोडामा गोली लागेको हो । त्यस्तै प्रदर्शनकारीतर्फ अर्जुनधाराकी निर्मला क्षेत्री लिम्बू, उर्लाबारीका सूर्य माझी र मातृका धिमाल पनि घाइते भएका छन् । लिम्बू र फागोको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । राँके जुलुसमा प्रदर्शनकारीहरु आक्रामक बन्दा प्रतिकारमा प्रहरीले एक राउन्ड गोली चलाएको र सो गोली फागोको गोडामा लागेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा १९ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । त्यसपछि प्रहरीले ५ राउन्ड डमी फायर, ५ राउन्ड सर्टगनको छर्रा र एक राउन्ड गोली प्रहार गरेको डीएसपी रिजालले जानकारी दिए । झडपमा नेपाल प्रहरीतर्फ १२ र सशस्त्रतर्फ ३ गरी १५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोजकुमार लामा, इन्स्पेक्टरहरू देवानन्द मिश्र, जीवन गौतम , प्रहरी सहायक हवल्दार शिवकुमार चौधरी, प्रहरी हवल्दार टंकबहादुर राई,प्रहरी जवान कमल श्रेष्ठलगायत रहेका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका प्रहरी सहायक हवल्दार चौधरीलाई उपचारका लागि गोल्डेन हस्पिटल विराटनगर पठाइएको छ । अन्यको दमकको लाइफलाइन र एडभान्स हस्पिटल दमकमा उपचार भइरहेको डीएसपी रिजालले बताए । त्यस्तै सशस्त्रतर्फ वरिष्ठ हवल्दार रामलाल ताजपुरिया, हवल्दार समन्त्र राई र जवान तुलसी श्रेष्ठ घाइते भएको सशस्त्र प्रहरी बल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले जानकारी दिए । घाइतेमध्ये दायाँ गालामा चोट लागेका हवल्दार राईलाई थप उपचारका लागि विराटनगर पठाइएको एसपी अर्यालले बताए ।

कोशी प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको पूर्वघोषित कार्यक्रम अनुसार पहिचान पक्षधरहरुले दमकमा राँके जुलुस प्रदर्शन गरेका थिए । जुलुसमा प्रदर्शनकारीहरूले प्रहरीमाथि राँको, इँटा र ढुङ्गा प्रहार गरेका थिए । त्यसपछि मात्र सुरक्षाकर्मीले प्रतिकार गरेको बताउँदै डीएसपी रिजालले भने, ‘शान्तिपूर्ण राँके जुलुस गर्ने भनिएको थियो, सोही अनुसार राँको बाल्न पनि दियौँ, राँको निभाउने क्रममा प्रदर्शनकारीहरू आक्रामक बन्दै सुरक्षाकर्मीमाथि उल्टै जाइलागे ।’ सुरक्षाकर्मीहरूलाई ज्यान जोगाउन नै हम्मे हम्मे परेपछि गोली हान्नु परेको उनले बताए । सुरक्षाकर्मीले धैर्यता अपनाउँदा मानवीय क्षति नभएको उनको भनाई छ ।

यता प्रदेश १ पुनः नामांकन संघर्ष समितिले जारी गरेको वक्तव्यमा राज्य पक्षबाट आन्दोलनमा घुसपैठ गराई मुठभेडको वातावरण सिर्जना गरी प्रहरीले गोली चलाएको आरोप लगाएको छ । ‘शान्तिपूर्ण आन्दोलनमाथि निरंकुुश पञ्चायती शैलीमा लोकतान्त्रिक सरकारले मानव अधिकारको उल्लंघन गर्दै आन्दोलनकारीमाथि प्रहरीको हतियारबद्ध दमनको घोर भर्त्सना गर्दछौँ,’ वक्तव्यमा भनिएको छ । यसरी नै सरकार निहत्था जनतामाथि जाइलागेमा त्यसको प्रतिरोधमा उत्रिन बाध्य हुने र त्यसले निम्त्याउने दुष्परिणामको जिम्मेवारी सरकार स्वयम्ले लिनुपर्ने चेतावनी पनि वक्तव्यमार्फत दिइएको छ । शान्तिपूर्ण आन्दोलनमा राज्य पक्षबाट हुने यस प्रकारको नृशंस दमनको अनुगमन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीहरूलाई हार्दिक अपिल गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्