एजेन्सी । गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित च्याटबोट बार्ड १८० देशमा उपलब्ध गराएको छ ।

कम्पनीले बुधबार आयोजित वार्षिक डेभलपर्स सम्मेलन गुगल आई/ओ २०२३ का अवसरमा बार्डको वेटलिस्ट हटाउँदै सबैका लागि उपलब्ध गराएको हो । यसबारे एक ब्लग पोस्टमार्फत गुगलकी सहायक एवं बार्डकी उपाध्यक्ष सिसी हसियाओले आधिकारिक घोषणा गरेकी हुन् । बार्ड च्याटबोटले यसलाई सोधिएका प्रश्नको जवाफ मानिसले झैँ सरल भाषामा दिन्छ । “हामीले थप सुधार र नयाँ सुविधा थप्नेक्रम जारी राख्दा बार्डलाई धेरै मानिसको प्रयोगमा ल्याउन चाहन्छौँ, ताकि तिनीहरूले यसलाई चलाउन सकून् र हामीलाई उनीहरूको प्रतिक्रिया मिलोस् । त्यसैले आज हामी वेटलिस्ट हटाइरहेका छौँ र १८० भन्दा बढी देश र क्षेत्रमा बार्ड उपलब्ध गराउँदै छौँ,” उनले लेखेकी छन् । गुगलका वरिष्ठ प्रडक्ट निर्देशक एवं बार्डका प्रमुखमध्येका एक जोन क्राउजिकले पनि च्याटबोटको कोरियाली र जापानी संस्करण पनि चाँडै आउँने र यो ४० भाषामा उपलब्ध हुने बताएका छन् । अहिले बार्ड अंग्रेजी भाषामा मात्र उपलब्ध छ । उनले सुरक्षा उपायका साथ अरू भाषामा बार्ड अलग अलग रूपमा सार्वजनिक हुने बताएका छन् । सन् २०२२ को नोभेम्बरमा ओपन एआईले सार्वजनिक गरेको च्याटजीपी च्याटबोटले छोटो समयमै ठूलो चर्चा पाएको थियो । विश्वभर यो करोडौँ मानिसको प्रयोगमा आएको छ । त्यसपछि गुगल र अरू विभिन्न टेक कम्पनीहरूले आफ्नै एआई च्याटबोट बनाउन थालेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्