झापा , बैशाख २८ । कोसी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन नियमावलीको मस्यौंदा माथि छलफल गरेको छ ।

प्रदेशबाट स्वीकृत भएको प्रदेश वन ऐन, २०७७ कार्यान्वयन गर्न नियमावली हालसम्म जारी भएको छैन । नियमावली नहुँदा फिल्डमा ऐन कार्यान्वयनमा बाधा परेको र संघीय वन, नियमावलीमा अस्पष्ट भएका विषय प्रदेशमा बन्ने नियमावलीमा स्पष्ट पारेर नियमावली जारी हुने मन्त्री जीवन आचार्यले बताए । जिल्ला स्तरमा ऐन कार्यान्वयनमा भएका विविध समस्याका सन्दर्भमा उपभोक्ता समूह तथा मातहतका कार्यालयबाट सुझाव आएकाले नियमावली निर्माणमा ढिलाई गर्न नहुने उनले बताए । आचार्यले सुझाव तथा समस्या समाधानका लागि मन्त्रालयले सदैव तत्पर रहेको र आफ्नो कार्यकालमा ऐन, नियमावली, निर्देशिका लगायतका नीतिगत तहबाट हुने काममा आफूले पहलकदमी लिने बताए । वैज्ञानिक वन कार्यविधि खारेजी पछिको समस्या, नदिजन्य वस्तुको व्यवस्थापन, काठ दाउरा व्यवस्थापन तथा पुराना घरको काठ स्थानान्तरण लगायतका विषय नियमावलीमा उल्लेख हुनेछ । २०७७ सालमा जारी भएको प्रदेश वन ऐनले हालसम्म पनि नियमावली नबन्दा यसको कार्यान्वयन हुन सकेको छैन । छलफलमा मन्त्रालयका सचिव डाक्टर सञ्जिवकुमार राई, वन निर्देशक धनन्जय लामिछाने, १५ वटै डिभिजन वन कार्यालयका प्रमुख एवम् वन वातावरणका क्षेत्रमा काम गर्ने कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्