झापा, बैशाख २९ । नक्कली भुटानी शरणार्थी प्रकरणका भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै बिर्तामोडमा प्रदर्शन गरिएको छ ।

युवा नागरिक समाजको अगुवाईमा झापाका राजनीतिक दलका प्रतिनिधिहरुले सो प्रदर्शन गरेका हुन् । शुक्रवार साँझ भेला भएर सहभागीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायत भ्रष्टाचारीलाई कारबाही गर्न मागसहित प्रदर्शन गरेका हुन् । उनीहरूले भ्रष्टाचारमा संलग्नलाई नछोड्न सरकारलाई खबरदारी गरे ।

र्याली बिर्तामोड बजार परिक्रमा गरी मुक्तिचोकमा कोणसभामा परिणत भएको थियो । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरू मुछिएका छन् । प्रहरीले सो प्रकरणमा मुछिएकाहरूलाई पक्राउ गरी अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । तर, अदालतबाट पक्राउ पुर्जी जारी गरिएका नेकपा (एमाले)का सचिव समेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अझै ‘फरार’ छन् । उनलाई उन्मुक्ति नदिन प्रदर्शनकारीले सरकारलाई सचेत गराए । जुनसुकै दल वा जतिसुकै ठुलो नेता भएपनि कडाभन्दा कडा कारवाही गर्न माग गर्दै सहभागीहरुले भ्रष्टाचारीलाई उम्किन नदिन आग्रह गरेका छन । नक्कली भुटानी शरणार्थी बनाउने उम्किए भने नागरिकले नछोड्ने चेतावनी दिएका छन् ।

प्रदर्शनकारीहरुले देशलाई कंगाल बनाउने भ्रष्टाचारी कारबाही हुनबाट जोगाइए जनताले नछोडने भन्दै सरकारलाई खबरदारी गरे ।सरकारले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई पक्राउ गरी कार्वाही गरिरहेकोमा धन्यवाद दिँदै अझ सशक्त भएर कार्वाहीमा उत्रिन आग्रह गरेका थिए । र्यालीमा नेकपा माओवादी केन्द्र , एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका सत्तारुढ दलका कार्यकर्ताको बढी सहभागिता रहेको थियो ।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता पनि सहभागी थिए ।

युवा नागरिक समाज झापाका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा भएको कोणसभालाई शेरबहादुर थापा , देशु सुब्बा , प्रत्युष राना , देव संग्रौलालगायतले संबोधन गरेका थिए । कार्यक्रमको संचालन हेमलाल भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्