एजेन्सी । भारतको कर्नाटक राज्यमा कांग्रेसले स्पष्ट बहुमत ल्याएको छ ।

दुई सय २४ सदस्यीय विधान सभामा बहुमतका लागि एक सय १३ सिट आवश्यक पर्नेमा कांग्रेसले एक सय ३६ सिटमा जित हासिल गरिसकेको बीबीसी हिन्दीले जनाएको छ ।

सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) ले ६५ ठाउँमा जित हासिल गरेको गरेको छ । सत्तारुढ भाजपाले हार स्वीकार गरेको बीबीसी हिन्दीले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटक राज्यमा बहुमत हासिल गरेकोमा कांग्रेसलाई बधाई दिएका छन् ।
कर्नाटकमा अघिल्लो चुनावमा भाजपाले एक सय चार सिट जितेको थियो । यस पटक भाजपाले नराम्रो हार ब्यहोर्यो भने कांग्रेसले ऐतिहासिक पुनरागमन गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

कर्नाटकको हारलाई भारतीय राजनीतिक विश्लेषकहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हार भनेका छन् । कर्नाटकमा जित हासिलका लागि प्रधानमन्त्री मोदीले हरसम्भव प्रयास गरेका थिए । उनी चुनावी प्रचारका लागि मात्रै २० पटक कर्नाटक पुगेको बीबीसी हिन्दीले जनाएको छ । कर्नाटकको सत्तामा पुनरागमन हुनुको महत्व कांग्रेसका लागि त्यो राज्यमा मात्र सीमित हुने छैन । यही वर्ष छत्तीसगढ, मध्यप्रदेश, मिजोरम, राजस्थान र तेलंगनामा विधान सभाको चुनाव हुँदैछ । ती राज्यहरुमा पनि बहुमत ल्याउनका कांग्रेसलाई कर्नाटकको जितले हौसला दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, अर्को वर्ष हुने आम चुनावका लागि पनि कर्नाटकको चुनावले अर्थ राख्नेछ । अब अर्को वर्ष हुने आम चुनावमा नरेन्द्र मोदीलाई पछि पार्दै राहुल गान्धी निर्वाचित हुने सम्भावना धेरै रहने बीबीसी हिन्दीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्