एजेन्सी । सुडानकी चर्चित गायिका साडेन गार्डुडको दुई समूहबीच भएको गोलाबारीमा ‘क्रसफायर’ मा परेर मृत्यु भएको छ ।

सुडानी सहर ओमर्डुनमा सेना र अर्धसैनिक बल (आरएसएफ) बीच भएको भिडन्तमा परेर उनको मृत्यु भएको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ । सर्वसाधारणमा पर्ने असर कम गर्न दुई समूहबीच सम्झौता भएको एक दिनपछि नै ३७ वर्षीय गायिकाले आफ्नो ज्यान गुमाउन परेको छ । गार्डुड अल-हसमाब क्षेत्रमा बस्दै आएकी थिइन् । पछिल्ला केही दिनमा त्यहाँ आरएसएफको उपस्थिति बढेको थियो । उनकी भान्जी हिरा हसान मोहम्मदले फेसबुकमार्फत निधनको पुष्टि गरेकी छन् । सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा गार्डुड गोलबारीबाट बच्ने प्रयास गरिरहेको र आफ्नो छोरालाई झ्यालहरु बन्द गर्न आग्रह गरिरहेको देखिएको छ । गार्डुड नियमितरुपमा फेसबुक लाइभमा आएर त्यहाँ जारी द्वन्द्वको बारेमा जानकारी दिइरहन्थिन् । सुडानमा सेना र आरएसएफको शक्ति संघर्षका कारण गत अप्रिलदेखि द्वन्द्व जारी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्