झापा, जेठ १ । झापा बिर्तामोड –८ गरामनी पग्लिभट्टीका डिल्लीकुमार मैनाली र उनको परिवारलाई नचिन्ने कमै होलान् । एक समय राजनीतिक , आर्थिक र सामाजिक रुपले सम्पन्न मैनाली परिवार जालझेलको शिकार बनेपछि यतिबेला बिचल्लीमा परेका छन् ।

जालझेलबाट जग्गा गुमेपछि डिप्रेसनमा पुगेका डिल्लीकुमारका भाइ ६० वर्षिय हरिकुमारको शनिवार बेलुका साढे ७ बजे मृत्यु भएको छ । व्यवहारिक कारणले डिप्रेसन भएका हरिकुमारको उपचारका क्रममा मनमोहन हस्पिटल बिर्तामोडमा निधन भएको हो ।
भद्रपुर–विर्तामोड सडकखण्डसँग जोडिएको करोडौँ मूल्य बराबरको जग्गा केही व्यक्तिहरूले व्यक्तिगत चिनजानको फाइदा उठाउँदै जालझेल गरी हडपेपछि बिर्तामोड नगरपालिका–८ का ६३ वर्षीय हरिकुमार डिप्रेसनको शिकार भएका थिए।
जग्गाधनी मैनालीको मृत्यु भएपछि उनकी श्रीमती राधा , दुई छोरीहरू लक्ष्मी र यमुना बिचल्लीमा परेका छन्।
विभिन्न प्रलोभन देखाएर भएभरको सबै जग्गा माफियाहरूले आफ्नो कब्जामा लिएपछि अहिले मैनाली परिवार घरबारविहीन (सुकुम्वासी) बनेको स्थानीयवासी बताउँछन्। करोडौँ मूल्य पर्ने जग्गा अरूले जालझेल गरी हडपेका कारण जग्गाधनी मैनालीको मृत्यु भएको भन्दै उनका आफन्त र छरछिमेकीले स्थानीय प्रशासनले उचित न्याय नदिलाएसम्म शवको दाहसंस्कार नगर्ने अडान लिएका थिए ।

सोही विषयलाई लिएर पीडित पक्ष आइतबार बिहान जिल्ला प्रशासन कार्यालय झापा पुगे। प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले घटनाको विषयवस्तु बुझ्दै जग्गा हडप्नेहरूलाई कानुनी दायरामा ल्याउने आश्वासन दिएपछि शव दाहसंस्कार गरिएको मृतकका आफन्त सुमन मैनालीले जानकारी दिए।
पीडित पक्षको तर्फबाट प्रशासनमा निवेदन दिएको बताउँदै मृतकका आफन्त सुमनले भने, ‘सो घटनाका बारेमा कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको र जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई पत्राचार गरिसकेको बुझ्नमा आएको छ।’

यस्तो छ घटना

पहिलो घटनाः हरिकुमार मैनालीको नाममा रहेको कित्ता नम्बर २०२४ मा दुई विगाह दुई कट्ठा १० धुर जग्गा थियो। सो जग्गा भद्रपुर–बिर्तामोड सडकखण्डसँग जोडिएको मैनालीको घरदेखि उत्तर पट्टीको हो।
मैनालीले २०२४ नम्बरको कित्तालाई फुटाई २१३४ र २१३५ कायम गरी भक्तपुरका दीपकचन्द्र न्यौपानेलाई कित्ता नम्बर २१३४ को एक विगाह १० कट्ठा जग्गा २०७० वैशाख ८ गते र काभ्रेपलान्चोकका नमराज ढुंगानालाई १२ कट्ठा १० धुर जग्गा २०७० साउन २४ गते राजीनामा पास गरेको भूमिसुधार तथा मालपोत कार्यालय झापाको स्रेस्तामा देखिन्छ। मैनालीले ढुंगानालाई राजीनामा पास गर्दा साक्षीमा न्यौपाने बसेको स्रेस्तामा उल्लेख छ।

जग्गा राजीनामा पास भइसक्दा पनि मैनाली र न्यौपानेबीच लामो समयसम्म आर्थिक लेनदेन भएन। जग्गाको लेनदेन नमिलेको र जग्गा पनि हातबाट फुस्किसकेपछि जग्गाधनी मैनालीले २०७७ सालमा बिर्तामोड ८ नम्बर वडा कार्यालयमा उजुरी हाले। त्यसपछि वडा कार्यालयमा २०७७ असोज २२ गते दुवै पक्षबीच सहमति भयो। जम्मा ४२ कट्ठा १० धुर जग्गा बापत न्यौपानेले मैनालीलाई ४ करोड २० लाख रुपैयाँ दिने लिखित सहमतिसमेत गरियो । २० लाख रुपैयाँ बैनावापत मैनालीले पाइसकेकाले बाँकी चार करोड रुपैयाँ न्यौपानेले दिने सहमति जुट्यो। सोही दिन नै न्यौपानेले मैनालीका नाममा दुई÷दुई करोड रुपैयाँको दुई वटा चेक दिए । तर, चेकमा रकम नहुँदा मैनालीले जग्गाको पैसा पाएनन् । अनि उनले जिल्ला प्रहरी कार्यालय झापामा दुई वटा चेक बाउन्समा उजुरी हाले।
प्रहरीमा चेक बाउन्समा उजुरी परेपछि न्यौपानेलाई प्रहरीले पक्राउ गर्यो । न्यौपाने शक्ति र पैसाको आडमा उच्च अदालतबाट धरौटीमा रिहा भइसकेको र पीडितले अझै पैसा नपाएको कारण डिप्रेसनमा परेर उनको मृत्यु भएको सुमनले दावी गरे ।

दोस्रो घटनाः हरि मैनालीका परिवार बसोवास गर्दै आएको दाजु स्व. डिल्लीकुमार मैनालीको नाममा रहेको कित्ता नम्बर ३०६ को १६ कट्ठा १७ धुर जग्गा पनि जालझेल गरी अर्को समूहले कब्जामा लिइसकेको घटना पनि खुलेको छ।
४२ कट्ठा १० धुर जग्गाको चार करोड रुपैयाँ नपाएर पीडित बनिरहेको अवस्थामा मैनाली परिवारको थप १६ कट्ठा १७ धुर जग्गा पनि हातबाट फुस्किएपछि सो परिवार थप संकटमा परेको छ। झापा गाउँपालिका–६ का युवराज सिटौला, चेतराज सिटौला, सौरभ सिटौलाले स्व. डिल्लीकुमार मैनालीलाई समेत सञ्चालकमा राखेर पाथीभरा मार्बल एण्ड ग्रेनाइट कम्पनी खोलेका थिए।
कम्पनी खोलेपछि उनीहरूले सञ्चालक स्व. मैनालीको नाममा रहेको सो जमिन मेघा बैंकमा धितो संरक्षण राखेर रकम झिकेका थिए। तर, सञ्चालक तथा जग्गाधनी मैनालीको चार वर्षअघि नै निधन भइसकेको छ। कम्पनीका अन्य सेयर सदस्यहरूले सो जमिनको साँवा र ब्याज नतिरेको भन्दै बैंकले लिलामी प्रक्रिया अगाडि बढाइसकेको छ।
बैंकको ताकेतापश्चात् सो घटना बाहिर आएपछि भाइ हरिकुमारले बिर्तामोड ८ नम्बर वडा कार्यालयमा उजुरी हाले। त्यसपछि कम्पनीका सेयर सदस्य युवराज सिटौला र हरिकुमारबीच लेनदेनका विषयमा सम्झौता भयो।
दाजुले लिएको ४० लाख रुपैयाँ फिर्ता दिएको खण्डमा सो जग्गा बैंकबाट फुकुवा गरिदिने भन्दै सेयर सदस्य सिटौलाले सहमति कागजमा हस्ताक्षर गरे। सो सहमति २०७८ फागुन १५ गते भएको देखिन्छ।
एक महिनाभित्र रकम फिर्ता दिने सर्तबमोजिम हरिले ४० लाख जुटाए । तर, सिटौला रकम पनि लिन नआएको र जग्गा पनि बैंकबाट फुकुवा नगरिदिएको आफन्त सुमन मैनालीले दावी गरे ।

तेस्रो घटनाः मृतक हरिकुमार प्रशान्ति एजुकेशन फाउन्डेसनबाट पनि पीडित बनेका थिए । फाउन्डर धनपति नेपालले हरिकुमारसंगको व्यवहार नमिलाएको आफन्त सुमन मैनालीले बताए । दाजुभाइको जग्गा हडप्नेहरूलाई कारबाही नभए न्यायका लागि जस्तोसुकै संघर्षमा उत्रिने उनको भनाइ छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्