बिर्तामोड, जेठ २ । बहुप्रतिक्षित बिर्तामोडको बुट्टाबारी–प्याकुरेल चौक सडकको बल्ल निर्माण शुरु भएको छ ।

गत मंसिर १६ गते संझौता भएपनि सडकको निर्माण हुन सकेको थिएन । विश्व बैंकको आर्थिक सहयोगमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनामार्फत बिर्तामोडको वडा नं ६ , ७ र ८ जोड्ने बुट्टाबारी–प्याकुरेल चौक सडकको शिलान्यास भएपछि निर्माण शुरु भएको हो । विश्व बैंकले अनुमति नदिँदा मेजर सिभिल वर्क थाल्न नसकिएको बिर्तामोड नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले बताए । गत मंसिरमा संझौता भएपनि सेभगार्डका लागि विश्व बैंकले नो अव्जेक्सन लेटर दिएर गो अहेड भन्न समय लगाएकाले काम शुरु गर्न ढिलो भएको उनले जानकारी दिए । बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले आज सो सडकको शिलान्यास गरेकी हुन् ।

६.२५८ किमि लम्बाई र १२.५ मिटर चौडाई रहने सो सडक ५१ करोड २९ लाख ६१ हजार३७२ रुपैयाँमा ठेक्का लागेको हो । अर्पी÷स्याप÷समता जेभीले सो सडक ठेक्का पाएका हुन् । २०७९ मंसिर १६ गते संझौता भएको सो सडक संझौता अवधि २०८१ मंसिर १६ गतेसम्म रहेको छ । ७ मिटर चौडाई कालोपत्रेसंगै सडकको दुई साइड पक्की नाली , आरसीसी ड्रेन, फुटपाथ , वाटर सप्लाई पाइपलाइन रहनेछ । सडकमा १२ वटा ह्युमपाइप रहनेछ भने सडक क्षेत्रमा परेका ९ मिटरका बिजुलीका पोलहरुलाई विस्थापित गरी ११ मिटरको गाडिने जनाइएको छ । सडकमा व्युटिफिकेसनका काम पनि हुने इन्जिनियर श्रेष्ठले जानकारी दिए ।

बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बिर्तामोड नगरपालिकाका निवर्तमान नगर प्रमुख ध्रुवकुमार शिवाकाटी, नेकपा एमालेका बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई , राप्रपाका जिल्ला उपाध्यक्ष ध्रुव उप्रेती, नेकपा माओवादीका जेवी जवेगूलगायतले शुभकामना मन्तव्य राखेका थिए ।स्वागत मन्तव्य नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गरेको कार्यक्रमको संचालन नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्