एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेसीले क्लब छाडने चर्चा चलेसँगै फ्रन्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले उनको रिक्तता पूरा गर्न अर्को खेलाडीको खोजी सुरु गरिसकेको छ ।

पीएसजीले मेसीको स्थानमा म्यानचेस्टर सिटीका विंगर बेनार्डो सिल्भालाई ल्याउने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । २८ वर्षीय पोर्चुगिज खेलाडी सिल्भा सन् २०१७ देखि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट खेल्दै आएका छन् । उनले म्यान सिटीबाट हालसम्म १ सय ९९ खेल खेल्दै ३३ गोल गरेका छन् । सिल्भाका प्रतिनिधि र पीएसजीबीच विभिन्न चरणमा छलफलसमेत भइसकेको समाचारमा जनाइएको छ । खासगरी पीएसजी मेसीले क्लब छाडेपछि पनि आफ्नो अग्रपँक्ति कमजोर नहोस् भन्ने चाहन्छ । त्यसैले पनि पीएसजीले सिल्भामाथि आँखा लगाएको हो । सिल्भाभन्दा अघि पीएसजीले इङ्ल्यान्डका स्ट्राइकर ह्यारी केन र नाइजेरियाका भिक्टर जेम्स ओसिमहेनमाथि पनि चासो देखाएको थियो ।

२४ वर्षीय स्ट्राइकर भिक्टर हाल इटालियन सिरिए क्लब नेपोलीमा आबद्ध छन् । २९ वर्षीय केन भने लोनमा इङ्लिस क्लब लेस्टर सिटीबाट खेलिरहेका छन् । टोट्टनहामका खेलाडी केन लोनमा लिटन ओरियन्ट, मिलवाल, नर्विच सिटी हुँदै लेस्टर पुगेका हुन् । म्यानचेस्टर सिटीसँग सिल्भाको सम्झौता अवधि अझै २ वर्ष बाँकी छ । सिल्भालाई भित्राउन पीएसजीका लागि यो सबैभन्दा ठूलो समस्या हो । यसका लागि पीएसजीले ठूलो रकम जोहो गर्नुपर्ने हुन्छ । सिल्भाका प्रतिनिधि योर्गे मेन्डेज पनि पीएसजीसँग निरन्तर सम्पर्क भइरहेको स्वीकारेका छन् । पीएसजीका खेलकुद निर्देशक लुइस क्याम्पससँग सिल्भाका प्रतिनिधि मेन्डेजको सम्पर्क भइरहेको समाचारमा जनाइएको छ । क्याम्पस र मेन्डेजबीचको सम्बन्ध पनि राम्रो छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्