झापा , जेठ २ । भारतको आसाम पुर्‍याई युवती बेचबिखन गरेको आरोपमा झापाबाट एकजना पक्राउ परेका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका-३ बस्ने ३० वर्षीया अप्सरा भन्ने एलिना खत्रीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । झापामा पक्राउ परेकी खत्रीमाथि गरिएको अनुसन्धानमा नेपाल र भारतका गिरोहको मिलेमतोमा नेपाली युवतीहरूलाई झुक्यानमा पारी भारत पुर्‍याएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको छ । प्रहरीका अनुसार खत्रीका एक सहयोगीले विसं २०७९ कात्तिक २४ गते एक युवतीलाई नुवाकोटबाट बस चढेर काठमाडौँमा आफन्त भेट्न आउने क्रममा खानेकुरा तथा पानीमा बेहोस पार्ने औषधि मिसावट गरेर खुवाएका थिए । पीडित युवती बेहोस् भएपछि उनले गिरोहसँगको मिलेमतोमा भारतको आसाम राज्यको सिल्चरको कोठीमा बेचेका थिए । त्यसपछि खत्रीलगायतले पीडितलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएर राखेको प्रहरीले जनाएको छ ।

त्यसपछि नेपाल प्रहरीले भारतीय प्रहरी र माइती नेपालको सहयोगमा पीडितको उद्धार गरेको थियो । पीडितले दिएको जाहेरीका आधारमा खत्रीलाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकोमाआजै अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । प्रहरीका अनुसार पीडित युवतीलाई बेचबिखनमा लगाउनेमा उनीसहित नेपाल र भारतका ६ जनाको संलग्नता रहेको खुलेको छ । खत्री यसअघि पनि मानव बेचबिखन अपराधमा संलग्न रहेको पाइएको छ । गत मंसिरमा उनी अदालतको आदेशले एक लाख ५० हजार रुपैयाँ धरौटी तिरेर तारिखमा छुटेको पाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्