झापा, जेठ ३ । कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई पदबाट बर्खास्त गरिएको छ।

बुधबार बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयले वाग्लेलाई पदबाट बर्खास्त गरिएको हो।

सामाजिक विकास मन्त्रालयसँग आवश्यक समन्वय नगरी काम गरेको र त्यस विषयमा ‘तपाईंलाई पदबाट किन नहटाउने ?’ भनी दुईपटक स्पष्टीकरण माग्दा पनि चित्तबुझ्दो स्पष्टीकरण नदिएकाले पदबाट बर्खास्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम किन उल्लेख नगरेको ? भन्दै मन्त्रालयका उपसचिव फणिन्द्र खत्रीले दोस्रोपटक स्पष्टीकरण सोधेका थिए।
मन्त्रालयले पहिलो स्पष्टीकरण सोधेलगत्तै प्रभु बैंकको शाखा कार्यालयलाई पत्र लेख्दै प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता रोक्का गर्न निर्देशन समेत दिइएको थियो। गत फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै त्यहाँ पहिचान पक्षधर आन्दोलनमा छन्। आन्दोलनकै बीच सम्पन्न भएको उक्त खेलकुद कार्यक्रममा ब्यानरमा कोशी नाम लेखिए कार्यक्रम सम्पन्न हुन मुश्किल रहेको आन्दोलनरत पक्षहरूको भनाइ छ।
नामका विषयमा आन्दोलन चर्किरहेका वेला कोशी प्रदेश सरकारले नामकै विषय बनाएर पदबाट बर्खास्त गर्नु सही नगरेको कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक सांसदले बताए। उनले भने, ‘नामका कारण हामी गाउँ जान सकिरहेका छैनौँ, यस्तो वेला ब्यानरमा प्रदेशको नाम उल्लेख नगरेको भन्दै पदबाट बर्खास्त गर्नु राम्रो सन्देश गएन।’

बैठकको निर्णयले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ का एसिड पीडित बालिका पवित्रा कार्कीलाई उपचार खर्चबापत १ लाख ७५ हजार उपलब्ध गराएको छ।
यस्तै आर्थिक सहायता सम्बन्धी कार्यविधि २०७९ मा उल्लेख भएबमोजिम आर्थिक रूपले विपन्न नागरिकलाई कडा रोगको उपचारका लागि प्रदान गरिने उपचार सहुलियत रकमको व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत एक करोड पचास लाख रुपैयाँ थप बजेटका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्