एजेन्सी । कोभिड-१९ महामारीका कारण सन् २०२२ मा ५१ प्रतिशत गरिब जनता थप गरिबीमा धकेलिएको बङ्गलादेशको अग्रणी थिङ्क ट्याङ्कले जनाएको छ ।

बङ्गलादेशको स्वायत्त बहु-अनुशासनात्मक सार्वजनिक अनुसन्धान संस्था बङ्गलादेश इन्स्टिच्युट अफ डेभलपमेन्ट स्टडिज (बीआईडीएस) ले गरेको एक सर्वेक्षणअनुसार बङ्गलादेशको राजधानी ढाकाजस्तो सहरमा पनि सहरी दीर्घकालीन गरिबी अझै पनि उल्लेखनीय स्तरमा छ । बिड्सले बुधबार ढाकामा आयोजित बिड्स रिसर्च अल्मानेक-२०२३ मा उक्त जानकारी दिएको हो । बिड्सका महानिर्देशक विनायक सेनले विकासलाई दिगो बनाउन जनताको संवेदनशीलतालाई ध्यानमा राख्नुपर्ने बताए । कोभिड-१९ को महामारीले मुलुकको अर्थतन्त्रमा पारेको असरका कारण नयाँ सामाजिक वर्गको उदय भइरहेको प्रमाणले देखाएको उनले बताए । उनले सहरी जनसङ्ख्याको करिब एक दशांस भाग यही वर्गमा पर्ने बताए । यसअघि विज्ञहरूले बङ्गलादेशले गरिबी निवारणमा ५० वर्ष पुग्दा हासिल गरेको सफलता पनि महामारीका बेला कम्तीमा दुई करोड मानिस गरिबीको रेखामुनि झरेकाले गुमेको बताएका थिए । रुस-युक्रेन द्वन्द्वकाबीच महामारी र अत्यावश्यक वस्तुको मूल्यवृद्धिका कारण अनौपचारिक रोजगारीमा संलग्न चार करोड मानिसको ठूलो हिस्साले रोजगारी गुमाएको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्