झापा, जेठ ४ । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसद्वारा सञ्चालित बीएससी सीएसआइटी विभागमा तालाबन्दी गरिएको छ।

बीएससी सीएसआइटी कार्यक्रम निर्देशकको नियुक्तिलाई लिएर क्याम्पस प्रशासन पक्षबीच विवाद चर्किदा सोही तहमा अध्ययनरत विद्यार्थीहरूले बीएससी सीएसआइटी विभागमा तालाबन्दी गरेका हुन्।

आइतबारदेखि विभागमा ताला लगाउनुका साथै पठनपाठन पनि स्थगन रहेको एमएमसी बीएससी सीएसआइटी संघका अध्यक्ष भाष्कर रिजालले जानकारी दिए। उनका अनुसार कार्यक्रम निर्देशकको नियुक्तिको विषयलाई लिएर क्याम्पस प्रशासनबीच केही दिनयता विवाद चर्किएको छ । क्याम्पस प्रशासनसँग पटक–पटक सोही विषयमा माग राख्दा कुनै सुनवाइ नगरेपछि तालाबन्दी गर्नु परेको उनको भनाइ छ । २०७५ सालदेखि क्याम्पसमा बीएससी सीएसआइटी विषयमा पठनपाठन हुँदै आएको छ । हाल बीएससी सीएसआइटी विषयमा ५ वटा ब्याच गरी करिब १७० जना विद्यार्थीहरू अध्ययनरत छन्।

आजसम्म अध्ययनरत विद्यार्थीहरूले आइटी र एससी पृष्ठभूमि भएको निर्देशक नपाएकाले बाध्य भएर तालाबन्दी कार्यक्रममा उत्रिनु परेको संघका संस्थापक अध्यक्ष निश्चल बुढाथोकीले जानकारी दिए। विद्यार्थीको माग क्याम्पस प्रशासनले सम्बोधन गरेसम्म तालाबन्दी यथावत राख्ने उनले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्