बिर्तामोड, जेठ ४ । बिर्तामोड नगरपालिका क्षेत्रभित्र कुष्ठरोगीको संख्या २९ पुगेको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले बिहीबार बिर्तामोडमा आयोजना गरेको कुष्ठरोग घरदैलो खोजपड्ताल कार्यक्रमअन्तर्गत सरोकारवाला निकायसंगको अन्तरक्रिया कार्यक्रममा यस्तो जनाइएको हो । जसमा बालबालिका ४ जना रहेका छन् । कात्तिक महिनायता बिर्तामोड नगर अस्पतालमा ६ जना कुष्ठरोगी फेला परेको जनाइएको छ । शंकास्पद लक्षण देखिएका १८ जनाको जाँच गर्दा ६ जनामा पोजेटिभ देखिएको हो ।

कुष्ठरोगका कारण बिर्तामोडमा ६ जना अपांगसमेत भएका छन् । यस्तै १ जनामा कुष्ठरोग पुनः बल्झिएको जनाइएको छ । अन्य वडाको तुलनामा बिर्तामोड १०मा कुष्ठरोगीको संख्या बढी रहेको सिनियर अहेब तथा फोकल पर्सन दिपक सापकोटाले जानकारी दिऐ । त्यस वडामा कुष्ठरोगीको ९ रहेको छ ।

कुष्ठरोगको जोखिममा रहेको १० नम्बर वडामा रोग पहिचानका लागि घर– घरमा तालिमप्राप्त स्वास्थ्यकर्मी पठाइने भएको छ । अभियानकै रुपमा जेठ ६ गतेदेखि १० गतेसम्म कुष्ठरोगको शंकास्पद लक्षण भएका बिरामी खोजी गर्ने अभियानको तयारी रहेको सापकोटाले बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले स्वास्थ्यकर्मीहरुलाई कुष्ठरोग नियन्त्रणका लागि समुदायस्तरमा डटेर लाग्न निर्देशन दिइन् । बिर्तामोडलाई कुष्ठ रोगमुक्त नगरपालिका घोषणा गर्नेगरी काम गर्न जोड दिँदै उनले नगरलाई क्षयरोग,कुष्ठरोगलगायतका रोगहरु मुक्त बनाउनु पर्ने बताइन् ।

यस्तै सर्ने रोगहरुको क्षेत्रमा काम गर्दै आएको संस्था एनएलएफका राष्ट्रिय निर्देशक एन्डु सिथ्लिंगले पालिकाको प्रत्येक विद्यालयलाई माध्यम बनाएर कुष्ठरोग नियन्त्रणका कार्यक्रमहरु गर्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै एनएलएफ दिपक घिमिरेले झापामा अहिले प्रति दश हजार जनसंख्यामा २ जनाभन्दा बढीलाई कुष्ठरोग देखापर्ने गरेको बताए । उनले बिर्तामोडमा प्रतिवर्ष २० जना नयाँ बिरामी उपचारमा आउने गरेको पनि बताए ।

अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडा नम्बर १० का वडा अध्यक्ष दुर्योधन गुरुङ, कार्यपालिका सदस्य यमुना आचार्यलगायतका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्